काठमाडौंको हल्का गर्मी चिसिँदै गएको थियो । जब डिजन वैद्यले क्रियटर्स आईभीएफ नेपालको ल्याबमा सेतो कोट लगाएर माइक्रोस्कोप अगाडि बस्दै आफ्नो दिनको सुरुवात् गर्नुभयो । उहाँलाई थाहा छ—उहाँ जे गरिरहनुभएको छ त्यो सामान्य काम होइन—यो जीवन सिर्जना गर्ने काम हो । ‘म अहिले जे छु, त्यसको बीउ भने क्रियटर्स आईभिएफ नेपालकी नेपालको पहिलो वरिष्ठ आईभीएफ विशेषज्ञ डा. सानुमैयाँ श्रेष्ठसँगको मेरो पहिलो भेटमा रोपिएको थियो’—उहाँ सम्झिनुहुन्छ ।
सपना भन्दा पहिलेको जीवन
डिजनले काठमाडौं विश्वविद्यालयबाट ह्युमन बायोलोजीमा ब्याच्लर गर्नुभएको थियो । विज्ञानप्रतिको मोह त थियो, तर त्यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट थिएन । सुरुमा उहाँ मेडिकल रिपे्रजेन्टेटिभको जागिरमा लाग्नुभयो । तर त्यो जागिरले उहाँभित्रको वैज्ञानिक खोजीलाई चित्त बुझाउन सकेन ।
कामको शिलशिलामा उहाँको डा. सानुमैयाँ श्रेष्ठसँग २०१३ जनवरीमा ग्लोवल हस्पिटल अन्तर्गतको आईभिएफ नेपाल प्रा.लि.मा पहिलो भेट भयो । त्यो बेला डा. सानुमैंया इन्डिभिज्युएल आईभीएफका लागि एकजना इम्ब्रियोलोजिष्ट उत्पादन गर्ने योग्य व्यक्तिको खोजीमा हुनुहुन्थ्यो । मेरो योग्यता र क्षमता हेरेर डा. सानुमैंया म्यामले भन्नुभयो—‘इम्ब्रियोलोजी पढ्छौ भने म ट्रेनिङमा पठाउँछु । म यसैमा लोभिएँ’—डिजन भन्नुहुन्छ । त्यो कुरापछि उहाँको जीवनको टर्निङ पोइन्ट बन्यो ।
इम्ब्रियोलोजीको पहिलो पाइला
सन् २०१४ जनवरीदेखि डा.सानुमैयाँको मातहतमा पूर्णकालीन काम गर्न थालेपछि डिजनको पहिलो तालिम मुम्बईको प्रतिष्ठित इम्ब्रियोलोजी एकेडेमी अफ रिसर्च ट्रेनिङमा भयो । त्यहाँ उहाँको पहिलो गुरु हुनुहुन्थ्यो डा. केर्सी एम अभारी । ‘उहाँले मलाई इम्ब्रियोलोजीको बेसिकदेखि सिकाउनुभयो । त्यो बेला डा. केर्सी आईभीएफ नेपालमा भिजिङ इम्ब्रियोलोजिष्टका रुपमा आउनुहुन्थ्यो । यहाँ उहाँको अन्डरमा काम गर्न पाएँ । त्यो बेला ब्याचमा आईभीएफ हुने गर्दथ्यो । तालिम र सिकाईले मैले विस्तारै इम्ब्रियोलोजीबारे धेरै नै जान्न पाएँ । त्यो मेरो लागि सौभाग्य थियो’—उहाँ बताउनुहुन्छ । इम्ब्रियोलोजी–यो विज्ञान सधैँ अदृश्य हुन्छ । तर यसको प्रभाव अत्यन्तै देखिने खालको हुन्छ । एक कोशिकालाई जीवनको शुरुवातमा सन्तुलित वातावरणमा हुर्काउने जिम्मा इम्ब्रियोलोजिस्टको हुन्छ र त्यसका लागि डिजनले आफूलाई पूर्णरूपमा समर्पित गर्नुभयो ।
विदेशी ज्ञानः नेपाली अभ्यास
सन् २०१५ सेप्टेम्बरमा क्रियटर्स आईभिएफ नेपालको स्पोन्सरसिपमा डिजन बेलायतको डण्डी युनिभर्सिटीमा ‘एमएस्सी इन ह्युमन क्लिनिकल इम्ब्रियोलोजी एण्ड एसिस्टेड कन्सेप्सन’ कोर्ष गर्न जानुभयो । सन् २०१६ सेप्टेम्बरमा उहाँ एक वर्षको प्रशिक्षणपछि नेपाल फर्किनुभयो ।
‘त्यहाँ मैले धेरै कुरा सिक्न पाएँ । त्यो अनुभवले मलाई आत्मविश्वास दियो ।’ नेपाल फर्किएपछि उहाँ जुनियर इम्ब्रियोलोजिष्टका रुपमा क्रियटर्स आईभीएफमा प्रवेश गर्नुभयो । तर उहाँको सीप र लगनशीलताले चाँडै सिनियर इम्ब्रियोलोजिस्टको स्थान दिलायो ।
सफलताका सुरुवाती कदम
डा.सानुमैयाँले सुरुमा उहाँलाई केही केसहरू गर्न दिनुुभयो । ती सुरुवाती केसहरूमा देखिएको सफलता नै डिजनका लागि ठूलो अवसर बन्यो । ‘डा.सानुले मेरो रिजल्ट देखेर ‘अब हामी रेगुलर केस गरौं’ भन्नुभयो । त्यो मेरा लागि गर्वको क्षण थियो ।’ त्यसपछि डिजनले कहिल्यै पछाडि फर्कनु परेन ।
जीवन निर्माण गर्ने कला
इम्ब्रियोलोजी भन्नु केवल कोशिका मिलाउने काम मात्र होइन । त्यो दम्पतीका आशालाई एउटा भ्रूणमार्फत् जीवनदिने प्रक्रिया हो । एउटा जोडी जब आफ्नो सन्तानको सपना लिएर आईभीएफ सेन्टर आउँछ, उनीहरूको सपना साकार पार्ने जिम्मा डिजन जस्ता इम्ब्रियोलोजिस्टहरूसँग हुन्छ । ‘जब कुनै दम्पतीले खुशीहुँदै आफ्नो बच्चा लिएर आउँछन् र भन्छन्—‘तपाईंको हातको जादुले हाम्रो जीवनमा प्रकाश ल्यायो, त्यो सुन्दा मेरो आँखामा आँसु आउँछ’—उहाँ भन्नुहुन्छ ।
अहिले र भविष्य
आज डिजन वैद्य क्रियटर्स आईभीएफ नेपालका कन्सल्ट्यान्ट इम्ब्रियोलोजिस्ट हुनुहुन्छ ।
नेपालमा ईम्ब्रियोलोजीको गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन उहाँले निरन्तर काम गरिरहनुभएको छ
। ‘मैले आजसम्म जे जति पाएको छु, त्यो डा. सानुुमैंया, मेरा गुरु, मेरा टोली र मेरो मिहिनेतको फल हो । तर यो यात्रा अझै बाँकी छ’—उहाँ मुस्कुराउँदै भन्नुहुन्छ ।
एउटा प्रेरणाः विज्ञानलाई जीवनसँग जोड्ने कथा
डिजनको कथा विज्ञान, समर्पण र मानवीय भावनाको सँगालो हो । उहाँ भन्नुहुन्छ—‘प्रयोगशालाभित्र म कोषहरूसँग काम गर्छु । तर त्यो कामले बाहिर कुनै आमाको गर्भमा जीवन सिर्जना गरिरहेको हुन्छ । त्यो भन्दा पवित्र काम म कल्पना गर्न सक्दिनँ ।’ यदि कहिल्यै आईभीएफ क्लिनिक जानुभएको छ भने तपाईंले देख्न नसकेको पर्दा पछाडिको त्यो विज्ञानमा डिजन जस्ता कोही सिपाही लगातार काम गरिरहेका हुन्छन्—‘जीवन निर्माणको मौन, तर गहिरो कलामा ।’
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
