नेपाल हेल्थ न्युज, काठमाडौं । तीन महिनाअघि वीर अस्पतालले सुरु गरेको विस्तारित सेवा योजना अपेक्षित परिणाम दिन सकेको छैन। अस्पताल प्रशासनले सेवा विस्तारको नीति र कार्यविधि बनाए पनि व्यवहारमा त्यो कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ।
वर्तमानमा विस्तारित सेवाअन्तर्गत नाक(कान(घाँटी (इएनटी), सर्जरी र डेन्टल सेवा मात्र सञ्चालनमा छन्। तीमध्ये पनि केही सेवा सुचारु भए तापनि प्रभावकारिता हासिल गर्न नसकेको अस्पताल स्रोतले जानकारी दिएको छ।
डेन्टल विभाग प्रमुख तथा विस्तारित सेवा समितिका सदस्य डा. प्रमोदकुमार कोइरालाका अनुसार, सेवा दिनुपर्ने विशेषज्ञ चिकित्सकहरू स्वैच्छिक आधारमा मात्र सेवा दिने प्रावधान भएकाले धेरैले समय दिन सकेका छैनन्। “स्वैच्छिक सेवा भएकाले चिकित्सकहरू अनिच्छुक देखिएका छन्,” उहाँले भन्नुभयो, “विशेषज्ञको अभावमा सेवा विस्तारको लक्ष्य अनुसार पुग्न सकेन।”
कोइरालाले सेवा दिनेमध्येका केही कर्मचारीको पारिश्रमिकसमेत समयमै नपुगेको उल्लेख गर्दै यसले थप निराशा सिर्जना गरेको बताउनुभयो। “डेन्टल विभागले सेवा दियो, तर तीन महिनाको तलब एकैचोटि पायौं, यस्तो स्थितिमा थप चिकित्सक र कर्मचारी आकर्षित हुन सकेनन्,” उहाँले स्पष्ट पार्नुभयो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै वर्गका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विस्तारित सेवामा चासो देखाए पनि, हाल सेवा प्रभावकारी रूपमा विस्तार हुन नसकेको देखिन्छ।
विस्तारित सेवा प्रभावकारी बनाउन डिजिटल लेखा प्रणाली, समयमै पारिश्रमिक वितरण, र विशेषज्ञलाई प्रोत्साहन दिने उपायहरू आवश्यक रहेको कोइरालाको सुझाव छ। “थप गृहकार्य भयो भने सेवा विस्तार सम्भव छ,” उहाले भन्नुभयो।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले बजेटको अभाव र जनशक्तिको सीमितता प्रमुख चुनौती भएको बताउनुभयो। उहाको भनाइ अनुसार चालु आर्थिक वर्षमा अस्पतालको बजेट ३० करोड रुपैयाँले घटाइएको छ।
हाल वीर अस्पतालले नियमित रूपमा दुई सिफ्टमा सेवा दिइरहेको छ। निर्देशक शर्माले सेवा विस्तारको सम्भावनामा गृहकार्य भइरहेको र व्यवस्थापन सुधार भएमा त्रिवि, कान्ति, सिभिल जस्ता अस्पतालमा जस्तै वीरमा पनि सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताउनुभएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
