नेभिगेशन

‘आईभीएफ सरसफाइ हाम्रो पहिलो प्राथमिकता हो’-अञ्जु तण्डुकार 

कोठा, हरेक सतह र हरेक उपकरणको सरसफाइ अत्यन्त महत्वपूर्ण


नेपाल हेल्थ न्युज, ललितपुर । स्वास्थ्य क्षेत्रको संवेदनशीलता र मर्यादालाई ध्यानमा राखेर काम गर्नेहरुका प्रयासहरू कहिलेकाहीँ पृष्ठभूमिमा छुट्छन् । तर क्रियटर्स आईभीएफ नेपालमा हाउसकिपिङ इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएकी अञ्जु तण्डुकार त्यसको अपवाद हुनुहुन्छ ।

उहाँ स्वास्थ्य क्षेत्रको स्वच्छता व्यवस्थापनमा झण्डै दुई दशकदेखि क्रियाशील हुनुहुन्छ । उहाँले डा. सानुमैंया श्रेष्ठलाई झण्डै १८ वर्षदेखि निरन्तर साथ दिँदै आउनुभएको छ ।

सुरुमा ग्लोबल हस्पिटल अन्तर्गतको आईभीएफ नेपाल प्रा.लि.मा काम सुरु गर्नुभएकी अञ्जुले डा. सानुसँगै क्रियटर्स आईभीएफमा पनि सुरुदेखि काम गर्दै आउनुभएको छ । ‘यो मेडिकल फिल्ड हो’—उहाँ भन्नुहुन्छ—‘यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’ क्रियटर्स आईभीएफ नेपाल जस्तो संवेदनशील क्षेत्र जहाँ दम्पतीहरूको सपनाले आकार लिन्छन्, त्यहाँ हरेक कोठा, हरेक सतह र हरेक उपकरणको सरसफाइ अत्यन्त महत्वपूर्ण हुन्छ ।

अञ्जु भन्नुहुन्छ—‘सफा र व्यवस्थित वातावरणले बिरामीमा सकारात्मक प्रभाव पार्छ, यो हाम्रो जिम्मेवारी पनि हो र गर्वको विषय पनि ।’ हाउसकिपिङ इन्चार्जको रुपमा उहाँले सरसफाइको अनुगमन गर्नुहुन्छ । तर आवश्यकता अनुसार कर्मचारीलाई तालिम दिनेदेखि लिएर प्रत्येक विभागसँग समन्वय समेत गर्नुहुन्छ । ‘हामी सबैको सरसल्लाह र नियमअनुसार काम गर्छौं—उहाँ थप्नुहुन्छ— ‘अहिलेसम्म सरसफाइको विषयमा कुनै गुनासो आएको छैन, त्यो हाम्रो समर्पणको प्रमाण हो ।’ उहाँको अनुभवमा हाउसकिपिङको काम केवल सफा गर्नु मात्र होइन, बिरामी, चिकित्सक र अन्य कर्मचारी सबैलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नु पनि हो । क्रियटर्स आईभिएफ नेपाल जस्तो अग्रणी स्वास्थ्य संस्थाको सफलताको पछाडि चिकित्सक र नर्स मात्र होइनन्, अञ्जु तण्डुकार जस्ता ब्याकएण्ड योद्धाहरूको पनि अतुलनीय योगदान रहेको छ ।

उहाँको अनुशासन, समर्पण र निरन्तरता स्वास्थ्य संस्थामा देखिएको स्वच्छता र सकारात्मक वातावरणको आधारस्तम्भ हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष