नेपाल हेल्थ न्युज, बैतडी । सिगास गाउँपालिका–४ मा अवस्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले शिशुको जीवनरक्षा गरेपछि उनको कामको प्रशंसा व्यापक रूपले भइरहेको छ। यसै क्रममा बुधबार अपरान्ह स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उनलाई प्रत्यक्ष फोन गरी धन्यवाद दिनुभएको छ।
पाँच बजेतिर आएको फोन उठाउनेबित्तिकै मन्त्री पौडेलको आवाज सुनेर अनमी पुजारा एकछिन अचम्ममा परिन्। उनले नमस्ते भनिसकेपछि मन्त्रीले भन्नुभयो, “बच्चाको ज्यान बचाएर तपाईंले जुन कार्य गर्नुभयो, त्यो साँच्चै प्रेरणादायी छ। यस्तो स्वास्थ्यकर्मी देशभर चाहिन्छ।” मन्त्रीको प्रशंसापछि अनमी भावुक भइन् र हर्ष व्यक्त गर्दै मन्त्रीलाई धन्यवाद दिइन्।
गत बिहीबार राति एक २० वर्षीया महिलाले शिशु जन्माएकी थिइन्। तर, नवजात शिशुको सासफेरे निकै कमजोर भएपछि उद्धारका अन्य माध्यम सम्भव थिएनन्। त्यस्तो अवस्थामा अनमी पुजाराले ६ घण्टासम्म शिशुलाई मुखबाट कृत्रिम अक्सिजन दिँदै जीवनरक्षा गरेकी थिइन्। उनको यो प्रयासले शिशुको ज्यान बच्न सफल भयो। मन्त्री पौडेलले पुजाराको कामको प्रशंसा गर्दै यस्तो कर्मयोगीलाई फोनमार्फत नै हौसला दिनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ ।
अनमी पुजारा आफ्नो कामलाई कर्तव्य ठान्छिन्। मन्त्रीबाट प्रशंसा पाएपछि अब आफ्नो जिम्मेवारी अझ गम्भीर भएको उनको भनाइ छ। “कामको मूल्यांकन हुँदा जिम्मेवारी अझ गहिरो महसुस हुन्छ,” उनले भनिन्, “सबैले आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गरे, सफलताको अर्थ पनि गहिरो हुने रहेछ।”
स्वास्थ्य मन्त्रालयले उनको कार्यलाई ‘विशेष सेवा’को रूपमा लिएको र भविष्यमा यस्ता स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन गरिने जनाएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
