नेपाल हेल्थ न्युज, काठमाडौं । ‘शुरुमा टेन्सन भएर आउनुहुन्छ, फर्किंदा मुस्कुराउँदै जानुहुन्छ ।’–क्रियटर्स आईभीएफ नेपालकी रिसेप्सन इन्चार्ज सोफिया श्रेष्ठको यही एक वाक्यले उहाँको १० वर्षे यात्राको सार बोल्छ ।
‘यहाँ आउने जोडीहरु पीडा बोकेर आउनुहुन्छ’—उहाँ भन्नुहुन्छ—‘त्यसैले हामी रिसेप्सनमा बस्नेहरू केवल नाम टिपाउने मात्र होइन, भावनात्मक साथ दिने भूमिकामा पनि हुन्छौं ।’ एक दशकदेखि क्रियटर्स आईभीएफ नेपालमा रिसेप्सन इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएकी सोफियाले ग्लोबल हस्पिटलअन्तर्गतको आईभीएफ नेपाल प्रा.लि.मा समेत दुई वर्ष डा. सानुमैंया श्रेष्ठसँग काम गरिसक्नुभएको छ ।
‘स्वागत मात्र होइन, भरोसा दिलाउने काम पनि हो’ । सोफियाको दिन बिहानै जोडीहरूको अनुहार पढ्दै सुरु हुन्छ । ‘कतिपय दम्पती त रिसेप्सनमै आइसकेपछि पनि बोल्न सक्दैनन् । उनीहरू गहभित्रका आँशु र मनका पीडा लुकाएर आउँछन् । त्यो बेला हामीले बोल्ने मात्र होइन, मन बुझ्नुपर्छ’—उहाँ भन्नुहुन्छ ।
ओपिडी बुकिङदेखि सेवाग्राहीको मनोवल जगाउनेसम्म उहाँको सक्रियता रहन्छ । सोफिया भन्नुहुन्छ—‘मैले यहाँ केवल नाम टिपेर डाक्टर कहाँ पठाउने मात्रै काम गर्दिनँ । पीडा के हो, मनस्थिति के हो भनेर बुझेर मात्र सम्बन्धित डिपार्टमेन्टमा रिफर गर्छु । पहिला उनीहरुको गुनासो पनि हामी सुन्छौं ।
कतिपयले त मलाई साथी जसरी कुराकानी गर्छन् । कहिले फोनमा पनि लामो समयसम्म गुनासो पोख्छन् । हामी सकेसम्म उनीहरुलाई शान्त बनाउने प्रयास गर्छौं ।’ उहाँको दम्पतीको पीडाको साक्षी बनेको दशक पनि हो । ‘धेरै पटक यस्ता दम्पती भेटेको छु जसको बिहे भएको १०–१५ वर्ष भइसकेको हुन्छ ।
कहिलेकाहीँ त रिसेप्सनमै बसेरै रुनु जस्तो हुन्छ’— उहाँ भन्नुहुन्छ—‘तर जब त्यो जोडीको रिपोर्ट पोजेटिभ आउँछ । अनि फेरि उनीहरु रिसेप्सन डेस्कमै खुशी बाँड्न आउँछन् । त्यो क्षणको खुशी बयान गर्न सक्दिनँ ।’
उहाँ सफलता भित्रको भूमिकामा ‘साइलेन्ट हिरो’ पनि हुनुहुन्छ । आईभीएफ प्रक्रियाको सफलतामा डाक्टर, नर्स, ल्याब टेक्निसियन जस्ता धेरै जनाको भूमिका हुन्छ । तर रिसेप्सन डेस्कमा बसेर पनि सोफियाले जुन गहिरो मानवीय सम्पर्क बनाउनुभएको छ, त्यो आफैंमा अद्वितीय छ । ‘मलाई लाग्छ, म यहाँको रिसेप्सनमा बसेको १० वर्षमा करिब सबै खाले दम्पतीको पीडा हेरेकी छु–आर्थिक अभाव, सामाजिक दवाव, पारिवारिक तनाव, मानसिक विचलन सबै ।
त्यसैले मलाई थाहा छ, आईभीएफ सेन्टरमा रिसेप्सन भन्ने ठाउँ केवल काउन्टर मात्र होइन, त्यो त एक ‘ट्रान्जिसन जोन’ हो–पीडाबाट आशाको यात्रा सुरु हुने विन्दु’—सोफिया गहिरो भाव पोख्नुहुन्छ । सोफिया सम्झनुहुन्छ—‘कतिपय दम्पती तीन–चार वर्षसम्म आइरहन्छन् । कहिलेकाँही त हार मान्न खोज्छन् ।
तर हामी त्यति बेला पनि सान्त्वना दिन्छौं, बुझाउँछौं–‘प्लिज, एकपटक फेरि ट्राइ गर्नुहोस् ।’ अनि सफल भएपछि उनीहरु आउँछन्–‘मिठो मुस्कानसहित हातमा मिठाई लिएर ।’ वास्तवमा सोफिया श्रेष्ठ जस्ता कर्मचारीहरू आईभीएफ जस्तो संवेदनशील क्षेत्रमा ‘अदृश्य शक्ति’ हुन् । जहाँ एक मुस्कान, एक सान्त्वनाका शब्द र भरोसाको अनुभूति हजारौं निसन्तान दम्पतीका लागि साहस र संघर्षको बलियो आधार बन्न पुग्छ । रिसेप्सनबाट सुरु हुने उपचारको यात्रा, सोफियाको सहानुभूति र संवेदनशीलता बिना अधुरो हुने गर्छ ।
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
