नेपाल ह्ल्थ न्युज, काठमाडौं । नर्सिङ सेवा केवल औषधि दिने वा चेकजाँच गर्ने प्रक्रिया मात्र होइन, यो सहानुभूति, समर्पण र समझदारीको समिश्रण हो । विशेषगरी इनफर्टिलिटीजस्तो संवेदनशील क्षेत्रको सेवाले अझै गहिरो अनुभूति र परिपक्वता माग्दछ ।
यस्तै संवेदनशील पेशामा विगत सात वर्षदेखि समर्पित हुँदै आउनुभएको छ क्रियटर्स आईभीएफ नेपालकी सिनियर क्लिनिकल नर्स स्वेता सिख्रकार । पिसिएल नर्सिङ सकेपछि उहाँ सिधै यही संस्थामा आवद्ध हुनुभयो ।
‘यो मेरो पहिलो जागिर हो, यहीँबाट मैले नर्सिङ जीवनको वास्तविक अनुभूति पाएकी हुँ । आईभीएफ भनेको सामान्य नर्सिङ फिल्डभन्दा बिल्कुलै फरक रहेछ भन्ने बुझ्न थालेँ । समाजमा कति संवेदनशील घटना छन् भन्ने कुरा पनि यहीं आएर सिकेँ ।’—स्वेताले सुनाउनुभयो । स्वेताका लागि यो यात्रा परिपक्वताको पाठ पनि बन्यो ।
धेरै कुरा बुझ्न र भन्न पनि असहज लाग्थ्यो’—उहाँ सम्झिनुहुन्छ । तर दिनहुँको काउन्सिलिङ, इमोसनल पेसेन्टसँगको सम्पर्क तथा सम्बन्ध र इन्टरकोर्सबारे हुनुपर्ने संवादले उहाँलाई नर्सिङ मात्र होइन, मानवीय सम्बन्धको गहिराइ बुझ्ने अवसर दियो ।
‘यहाँ टिमवर्क अत्यन्तै महत्वपूर्ण हुन्छ’—उहाँ भन्नुहुन्छ—‘हरेक विभाग एकआपसमा जोडिएका छन् । ल्याब, रिसेप्सन, फार्मेसी, डाक्टर, नर्स सबैको भूमिका बराबरी छ । क्लिनिकल सेटिङमा टिमवर्क बिना काम नै हुँदैन भन्ने कुरा यहाँ सिकेँ ।’ स्वेताको अनुभवले देखाउँछ कि नर्सिङ पेशामा ज्ञान मात्र होइन, अनुभव, धैर्यता र भावनात्मक समझदारी अत्यावश्यक हुन्छ ।
उहाँले सन्तानप्राप्तिका लागि संघर्षरत दम्पतीसँग काम गर्दा नर्सको भूमिका कतिको गहिरो र संवेदनशील हुनसक्छ भन्ने बुझ्नुभयो । ‘जति काम गरेँ, त्यति नै आत्मविश्वास बढेको महसुस गरेकी छु । अहिले म दम्पतीलाई खुलेर काउन्सिलिङ गर्न सक्छु’—स्वेताले मुस्कुराउँदै भन्नुभयो ।
स्वेताजस्ता नर्सहरूका नदेखिएका प्रयास, संवेदनशील व्यवहार र निरन्तरको आत्मविश्वासले स्वास्थ्य क्षेत्रको आत्मा अझ मजबुत बनाइरहेको छ । उहाँकै शब्दमा—‘आईभीएफ नर्सिङ पनि नर्सिङको एक सुपरस्पेसियालिटी हो जसलाई हाम्रा पाठ्यक्रममा अझै गहिरो रूपमा समावेश गर्न जरुरी छ ।’
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
