नेभिगेशन

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति चयन

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अब नयाँ नेतृत्वको हातमा पुगेका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सोमबारदेखि क्रमशः उपकुलपति (भिसी) नियुक्ति प्रक्रिया टुंग्याउँदै पोखरा, धरान, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अनुभवी चिकित्सक तथा प्राध्यापकहरूलाई जिम्मेवारी सुम्पिनुभएको छ । 

नयाँ नियुक्ति सूची

  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर – प्रा. डा. बुद्धि पौडेल
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की – प्रा. डा. भरत बहादुर खत्री
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – डा. पुजन कुमार रोकाया 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. विक्रम प्रसाद श्रेष्ठको नाम धेरैको लागि अपरिचित छैन । आन्तरिक चिकित्सा र शैक्षिक व्यवस्थापनमा दुई दशकभन्दा बढीको अनुभव बोकेका उहाँ यसअघि प्रतिष्ठानमा विभिन्न प्रशासनिक पदमा रहेर सुधार योजनाहरुमा रहेर काम गरेको अनुभव छ । 


यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त प्रा. डा. बुद्धि पौडेलले सार्वजनिक स्वास्थ्य र महामारी विज्ञानमा गरेको कामले उहाँलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको छ । उहाँ विगत १५ वर्षदेखि पाटन अस्पतालसँग आवद्ध रहेर शिक्षण, अनुसन्धान र अस्पताल व्यवस्थापनमा योगदान दिँदै आउनुभएको छ ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. भरत बहादुर खत्री शल्य चिकित्सा र मेडिकल नेतृत्वमा अनुभवी मानिनुहुन्छ । नियुक्तिपत्र पाएपछि उहाँले पोखरालाई ‘मेडिकल टुरिज्म’ हब बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।


जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ उपकुलपति प्रा.डा. पुजन कुमार रोकाया कर्णालीकै सन्तान हुनुहुन्छ । उनहाँ ग्रामीण स्वास्थ्य सेवा र जनशक्ति विकासका लागि लामो समयदेखि सक्रिय हुनुहुन्छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको संयोजत्वमा बनेको सर्च कमिटीले असार ४ गतेदेखि नामावली तयार गरेको थियो । समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए ।


स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको भूमिका केवल शैक्षिक संस्थानको प्रमुख मात्र नभई, स्वास्थ्य नीति निर्माणमा पनि प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । उनीहरूले चिकित्साशास्त्र शिक्षा गुणस्तरीकरण, ग्रामीण पहुँचमा सुधार, अनुसन्धानमा लगानी, अन्तर्राष्ट्रिय साझेदारी जस्ता क्षेत्रमा निर्णायक कदम चाल्नुपर्ने अपेक्षा छ । चारै उपकुलपति अनुभवी र संस्थागत सुधारका पक्षधर देखिन्छन् । तर उनीहरूको कार्यक्षमता स्रोतसाधनको परिचालन र राजनीतिक हस्तक्षेप नियन्त्रणमा कति सफल हुन्छन् भन्नेमा निर्भर रहनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष