नेभिगेशन

वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको अचानक राजीनामाः २५ वर्षको योगदानपछि नयाँ यात्रा

मंगलबार बिहान अमेरिका पुगेको जानकारी सार्वजनिक

नेपाल हेल्थ न्युज, काठमाडौं  । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको उल्लेख गर्दै आगामी असोज ३०, २०८२ देखि लागू हुने गरी आफ्नो राजीनामा दिएको सामाजिक सञ्जाल एक्स मार्फत घोषणा गर्नुभएको छ ।

विदेशबाट आएको राजीनामा
डा. कोइराला हाल विदेशमा रहेका कारण उहाँले बुधबार सामाजिक सञ्जाल एक्समा आफ्नो राजीनामा सार्वजनिक गर्नुभएको हो।

पोस्टमा उहाँले लेख्नुभएको छ- र, म तपाईंको खुच्चिङमा रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र, म सो बेला सायद सर्जन नहुँला। सरी, कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भने पत्याउने मेरा घरकालाई सलाम।'

उहाँले मंगलबार बिहान अमेरिका पुगेको जानकारी पनि सार्वजनिक गर्नुभएको छ ।

२५ वर्षको योगदान
डा. कोइरालाले यस केन्द्रमा २५ वर्ष सेवा गर्नुभएको छ। उहाँको कार्यकालमा कार्डियोभास्कुलर विभागले राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको थियो। उहाँले बिरामीहरूको उपचारमा नवीनतम प्रविधि र उच्चस्तरीय सर्जरीको प्रवर्द्धन गर्नुभएको थियो ।

उहाँको राजीनामा पत्रमा हाल व्यक्तिगत कारणले पदमा कार्य गर्न असमर्थ भएकाले र मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन नसक्ने भएकाले राजीनामा ३० असोज २०८२ देखि लागू हुने गरी स्वीकृत गर्न अनुरोध गरिएको छ।

राजीनामा पत्रमा उहाँले  आफ्नो कार्यकक्षमा रहेका व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै गोप्य कागजात नराखिएको र हस्तान्तरण प्रक्रिया सहज हुने बताइएको उल्लेख गर्नुभएको छ ।

भावनात्मक संदेश
राजीनामा पत्रमा उहाँले केन्द्रको प्रगति प्रति विश्वास व्यक्त गर्दै भन्नुभएको छ-'म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति र यहाँका प्रयासहरूमा सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने छु। मलाई यस केन्द्रमा बिताएको २५ वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ।'


विशेषज्ञको योगदान र राष्ट्रिय महत्व
डा. कोइरालाको योगदानले केन्द्रलाई राष्ट्रिय गौरव दिलाएको छ। उहाँका सहकर्मीहरूले उहाँको नेतृत्वमा कार्डियाक सर्जरीको क्षेत्रमा नयाँ मापदण्ड स्थापित भएको र प्रशिक्षण कार्यक्रमलाई मजबुती प्रदान गरिएको बताउनुभएको छ ।

उहाँको असमयको राजीनामा स्वास्थ्य क्षेत्रका लागि ठूलो खबरको रूपमा लिइएको छ। विशेषज्ञहरूले भनेका छन् यसले नेपाली मुटु शल्यक्रिया क्षेत्रमा अन्तरिम चुनौती निम्त्याउन सक्छ । तर केन्द्रको वर्तमान संरचना र अन्य वरिष्ठ चिकित्सकहरूले कार्य निरन्तरता सुनिश्चित गर्नेछन्।

डा. कोइरालाको राजीनामा व्यक्तिगत कारणले भए पनि सामाजिक सञ्जालमार्फत गरिएको घोषणा र भावनात्मक सन्देशले उहाँको मानवीय पक्ष र पेशागत प्रतिबद्धता दुवैलाई उजागर गरेको छ। २५ वर्षको सेवा, बिरामीप्रति समर्पण र केन्द्रको प्रगतिको प्रतिवद्धता उहाँको नेपाली स्वास्थ्य क्षेत्रमा स्मरणीय योगदानको प्रमाण बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष