नेभिगेशन

डिम्ब निष्कासन र भण्डारणमा सर्वोच्चको रोक

नेपाल हेल्थ न्युज, काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीबाट डिम्ब निष्कासन र भण्डारण गर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता अङ्कित त्रिपाठीले अवैध रूपमा भइरहेको डिम्ब निष्कासन तथा भण्डारणविरुद्ध रिट दायर गरेपछि न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मङ्गलबार उक्त आदेश जारी गरेको हो ।

अदालतले बालबालिकाको मौलिक हकको संरक्षण राज्यको संवैधानिक कर्तव्य भएको उल्लेख गर्दै डिम्ब निष्कासन तथा भण्डारणको दुरुपयोग हुने जोखिमलाई मध्यनजर गर्दै अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “बालिका तथा किशोरी शोषण हुन सक्ने जोखिम, सुविधा र सन्तुलनलाई दृष्टिगत गरी रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नेपालभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारण रोक्न आदेश दिइएको छ ।”

रिट निवेदनले बालिकाको प्रजनन स्वास्थ्य, मर्यादित जीवन र गैरकानुनी शोषणसँग सम्बन्धित गम्भीर प्रश्न उठाएको भन्दै अदालतले तत्काल कदम चालेको हो ।

संविधानको धारा ३९ ले बालबालिकामाथि हुने कुनै पनि प्रकारको दुव्र्यवहार, उपेक्षा वा यौनजन्य हिंसा निषेध गरेको प्रावधानलाई अदालतले आदेशमा उद्धृत गरेको छ । यस्तै जनस्वास्थ्य ऐनले मातृत्व र प्रजनन स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेको पनि आदेशमा उल्लेख छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष