नेभिगेशन

गुणस्तरहीन प्रतिबन्धित औषधी खुलेआम बिक्रीः विभागको छापा, करोडौंको कारोबार खुलासा

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको गुणस्तरहीन औषधी खुलेआम बजारमा बिक्री वितरण भइरहेको पाइएको छ। विभागले पछिल्लो अनुगमनका क्रममा राजधानीको कलङ्कीस्थित एक गोदामबाट ठूलो परिमाणमा यस्ता औषधी बरामद गरेको छ।

विभागका अनुसार सफल स्वास्थ्य सेवा प्रालिले भारतको भ्यालेन्ट्रोन हेल्थ केयर इन्डियाबाट उत्पादन भएको ‘भ्लेक्जोन–१ ग्राम’ नामक एन्टिबायोटिक इन्जेक्सन आयात गरेर नेपालमा बिक्री वितरण गरिरहेको पाइएको हो। यस औषधीलाई विभागले पहिले नै गुणस्तरहीन ठहर गरी जेठ २० गते आयात अनुमतिपत्र रद्द गरेको थियो।

तर, आयातकर्ताले अनुमति रद्द भएको भोलिपल्ट, जेठ २१ गते अनुमति कागजात विभागमा दाखिला गरेको देखिएको छ। यसपछि पनि असार २७ मा वीरगन्ज भन्सारबाट औषधी जाँचपास भएर नेपाल भित्रिएको पुष्टि विभागले गरेको छ।

दुई करोडभन्दा बढी मूल्यको गुणस्तरहीन औषधी

विभागले दिएको जानकारी अनुसार सफल स्वास्थ्य सेवा प्रालिले २ लाख ५० हजार भाइल भ्लेक्जोन इन्जेक्सन काठमाडौं ल्याएको थियो, जसको बजार मूल्य २ करोड २५ लाख रुपैयाँभन्दा बढी पर्छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार औषधी प्रतिबन्धित भइसकेको अवस्थामा समेत आयात गरिएको छ। उहाँले भन्नुभयो, “सफल स्वास्थ्यले प्रतिबन्धित औषधी ल्याएर वितरण गरेको पुष्टि भइसकेको छ। विस्तृत अनुसन्धान जारी छ।”

नक्कली कागजात र जीवन रक्षक औषधीको जोखिम

विभागले दिएको विवरण अनुसार आयातकर्ताले नक्कली आयात अनुमतिपत्र बनाएको र त्यसैको आधारमा जीवन रक्षक औषधी नेपाल भित्र्याएको पाइएको हो। विभागका वरिष्ठ औषधी व्यवस्थापक किरण वज्राचार्यका अनुसार यो औषधी विभिन्न अस्पतालका फार्मेसीसम्म पनि आपूर्ति भइसकेको छ।

वज्राचार्यले भन्नुभयो, “हामीले अनुमति रद्द गरेपछि पनि ठूलो परिमाणमा औषधी भित्रिएको देखिएको छ। भारतबाट आएको यो औषधी कहाँ–कहाँ पुगेको छ भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ।”

आयातकर्ताको स्वीकारोक्ति

विभागको टोलीसँग भएको कुराकानीमा सफल स्वास्थ्य सेवा प्रालिका प्रतिनिधि देवराज लामिछानेले औषधी आयातको माग पहिल्यै आएको भन्दै केही हदसम्म स्वीकारोक्ति दिनुभएको छ। तर उहाँले विभागले छापा मारेको औषधीबारे “सत्यता नभएको” दाबी गर्नुभएको छ।

थप अनुसन्धान अघि बढ्दै

विभागले यस घटनालाई गम्भीर रूपमा लिँदै भन्सार पास कसरी भयो, एलसी कसरी खोलियो, र अनुमति रद्द भइसकेपछि औषधी कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।

यसअघि पनि विभागले नक्कली आयुर्वेदिक औषधी उत्पादन गर्ने कम्पनीमाथि कारबाही गर्दै केही व्यक्तिलाई पक्राउ गरेको थियो।

महानिर्देशक ढकालले भन्नुभयो, “गुणस्तरहीन औषधीले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ, त्यसैले हामीले प्रतिबन्धित औषधीको अनुगमनलाई अझ तीव्र बनाएका छौं।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट