नेपाल हेल्थ न्युज, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रजिष्ट्रार पदमा पुनः नियुक्ति प्रक्रिया विवादित बन्दै गएको छ। प्रतिष्ठानका ५३ जना कर्मचारीहरूले, सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै, रजिष्ट्रार नियुक्तिमा भइरहेको राजनीतिक हस्तक्षेपको विरोध गरेका छन्।
उनीहरूले पूर्व रजिष्ट्रार नृपेन्द्र महतको सम्भावित पुनर्नियुक्ति प्रयासप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन्। उक्त ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति रहेका केपी शर्मा ओलीलाई समेत बोधार्थ पठाइएको छ।
कर्मचारीहरूले महतको अघिल्लो कार्यकालमा भएको निर्णयहरू र व्यवहार संस्थाको हितविपरीत रहेको आरोप लगाएका छन्। उनीहरूले महतविरुद्ध १३ बुँदे गम्भीर आरोप लगाउँदै पदिय आडमा दुरुपयोग, नियमविपरीतका कार्य, कर्मचारीमाथिको दमनलगायतका कार्यको सूची पेश गरेका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “राजनीतिक शक्ति केन्द्रहरूलाई आधार बनाएर पुनः नियुक्तिको प्रयास हुनु चिन्ताको विषय हो। यस्तो पुनर्नियुक्तिले संस्थाको गरिमा, प्रगति र स्थायित्वमा गम्भीर असर पार्न सक्छ।”
पूर्व रजिष्ट्रार महतको कार्यकाल केही समयअघि सकिएको थियो। त्यसयता उनी पुनः सोही पदमा फर्किन राजनीतिक दौडधूपमा छन्। अघिल्लो कार्यकालमा उनी विभिन्न विवादमा तानिएका थिए। नियुक्तिको समयमा समेत राजनीतिक हस्तक्षेपको आरोप लागेको थियो। तत्कालीन मन्त्रीको निर्णयले उनको नियुक्ति प्रक्रियामाथि प्रश्न उठेको थियो।
उता, महतले भने आरोपमा कुनै सत्यता नभएको दाबी गर्दै हस्ताक्षरहरू नक्कली भएको प्रतिक्रिया दिएका छन्। “सबै हस्ताक्षर नक्कली छन्, यस्तो कार्य गर्नेहरूलाई कारबाही हुनु पर्छ,” उनले भने। प्रतिष्ठानमा बढ्दो असन्तुष्टि र सम्भावित आन्दोलनको पृष्ठभूमिमा यो विषयले थप गम्भीर मोड लिन सक्ने देखिएको छ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

