नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको युवापुस्ता फेसन र आधुनिकताको नाममा भेप, ई–सिगरेट र हुक्कातर्फ तिव्र आकर्षित भइरहेका छन्। तर यसले उनीहरूको स्वास्थ्य र भविष्यलाई गम्भीर संकटतर्फ धकेलिरहेको विशेषज्ञहरूले चेतावनी दिएका छन्। सुरुमा यी उत्पादनलाई ‘चुरोटको सुरक्षित विकल्प’ भनेर प्रचार गरिएको थियो।
तर विश्व स्वास्थ्य संगठनलगायतका अनुसन्धानहरूले भेप र ई–सिगरेट पनि चुरोट जत्तिकै खतरनाक वा अझै घातक हुनसक्ने देखाइसकेका छन्। भेपमा प्रयोग हुने रसायनहरूले फोक्सो र श्वासप्रश्वास प्रणालीलाई कमजोर बनाउँछन्, हृदयघात र स्ट्रोकको जोखिम बढाउँछन्।
किशोर–किशोरीमा निकोटिनको लतले दिमागको प्राकृतिक विकासमा अवरोध पुर्याउँछ। फेसन र भ्रम युवापुस्ताले भेपलाई साथीबीच ‘मोडर्न देखिने’ शैलीका रूपमा लिएको छ। पार्टी र क्याफे संस्कृतिमा यसको प्रयोग सामान्य दृश्य बनेको छ।
तर विशेषज्ञहरूले चेतावनी दिएका छन्– “आज रमाइलोका लागि तानिएको रसायनयुक्त बाफ भोलि अक्सिजन सिलिण्डरसम्म पुर्याउने खतरा बोकेको छ।”
आर्थिक बोझ नेपालजस्तो विकासोन्मुख देशमा भेप र ई–सिगरेटको दीर्घकालीन असर अझ गम्भीर हुने बताइन्छ। महँगा उपचार खर्चका कारण परिवारहरू गरिबीको चक्रमा धकेलिन सक्ने चिन्ता चिकित्सकहरूको छ।
यो केवल व्यक्तिगत स्वास्थ्य मात्र होइन, समग्र समाज र अर्थतन्त्रमा पर्ने दबाब हो। कानुनी कमजोरी हाल नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन परम्परागत चुरोट–बीडीसम्म सीमित छ। भेप र ई–सिगरेट कानुनी संरचनाको कमजोर कडी बनेका छन्। पसल र क्याफेमा सजिलै पाइने यी उत्पादन खुलेआम आयात भैरहेका छन्।
विशेषज्ञहरूको भनाइमा, सरकारले तत्काल कडा कानुनी व्यवस्था ल्याई आयात र बिक्रीमा नियन्त्रण गर्नुपर्छ। स्थानीय तहले बजारमा कडाइ गर्नुपर्ने, संघीय सरकारले नीतिगत कडाइ गर्नुपर्ने र शिक्षामन्त्रालयले पाठ्यक्रममै यसको हानिकारक पक्ष समावेश गर्नुपर्ने आवश्यकता देखिएको छ।
सचेतनाको आवश्यकता अभिभावक, शिक्षक, सञ्चारमाध्यम र नागरिक समाज सबैले मिलेर युवापुस्तालाई सचेत गराउनुपर्छ। अहिले मौन बसियो भने भोलि रोगले ग्रसित पुस्ता पैदा हुनेछ र त्यसमा हामी सबैको मौनताले अपराध गर्नेछ। भेप वा ई–सिगरेट कुनै फेसन होइन, यो स्लो पोइजन हो ।
यसलाई रोक्नु भनेको आजका युवाको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्य सुरक्षित गर्नु हो। (लेखकः नेपाल अर्बुद रोग निवारण संस्थाका निबर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता हुन्)
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२
बढी ग्यास निम्त्याउने यी ८ खानेकुरा
शुक्रबार, फागुन ८, २०८२
संघीयतापछि खाद्य नियमनः पहुँच, चुनौती र आवश्यक सुधार
बिहीबार, माघ २९, २०८२

