काठमाडौं । सरकारले बालबालिकालाई स्वर्णभस्म-स्वर्णकल्प ‘इम्युन बुस्टर’का रूपमा वितरण गर्ने तयारीप्रति बालरोग विशेषज्ञहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटी (नेप्स) ले औपचारिक असहमति जनाएको छ ।
अध्यक्ष डा.अरुण कुमार न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा सोसाइटीले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, गुणस्तर, बालसुरक्षा, जोखिम मूल्याङ्कन र नियामक स्पष्टता नपुगेको कारण यो अभियान तत्कालै रोक्नुपर्ने माग गरेको छ ।
वैज्ञानिक आधार छैन, जोखिम बढी
सोसाइटीका अनुसार शिशुहरूलाई स्वर्णकल्प सेवन गराउँदा प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको कुनै वैज्ञानिक आधार छैन । बरु, यसमा हेभी मेटल -सुन_ को सम्भावित जोखिम रहन्छ ।
त्यस्तै, नेपालमा गरिएका बजार सर्वेक्षणहरूले केही आयुर्वेदिक उत्पादनमा सिसा -लेड_, पारो -मर्क्युरी_, आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै सोसाइटीले बालस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।
पेडियाट्रिक सोसाइटीका सिफारिस
- स्वर्णभस्म/स्वर्णकल्प वितरण कार्यक्रम तत्काल स्थगन गर्नुपर्ने ।
- औषधि व्यवस्था विभागले वैज्ञानिक प्रक्रिया, नियामक पारदर्शिता र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने ।
- कार्यक्रमले शिशुहरूलाई समेट्ने भए उमेर सुरक्षा सम्बन्धी चेतावनी स्पष्ट राख्नुपर्ने ।
- सार्वजनिक प्रयोग गर्नु परेमा, सुरक्षित छ भन्ने प्रमाणित अनुसन्धानपछि मात्र सुरु गर्नुपर्ने ।
- सरकारलाई स्तनपान, समयमै खोप, भिटामिन–ए, पखालामा जिङ्क, पोषण जस्ता प्रमाणित उपायहरूमा लगानी प्राथमिकता दिन सिफारिस ।
अभिभावक र चिकित्सकलाई सन्देश
सोसाइटीले अभिभावक र चिकित्सकलाई सावधानी अपनाउन आग्रह गर्दै केही स्पष्ट सन्देश पनि दिएको छ-
- १२ महिनाभन्दा कम उमेरका शिशुलाई मह नदिनुहोस् ।
- स्वर्णभस्मःस्वर्णकल्पको ‘इम्युन बुस्ट’ दाबीबारे उच्च गुणस्तरीय प्रमाण नआइन्जेसम्म प्रयोग नगर्नुहोस् ।
- बाल स्वास्थ्य सुदृढ बनाउन विशेष स्तनपान, समयमै खोप, उचित पोषण, स्वच्छता र समयमै उपचार नै प्रमाणित उपाय हुन् ।
- स्वर्णभस्म सेवन पश्चात कुनै प्रतिकूल असर देखिए तत्काल नजिकैको बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस् ।
पेडियाट्रिक सोसाइटीले संक्षेपमा भनेको छ– १२ महिना मुनिका शिशुमा मह निषेधित भएको पृष्ठभूमिमा तथा सुन (गोल्ड) सम्बन्धी सम्भावित जोखिम र नियामक प्रक्रियामा स्पष्टता नआएसम्म यो अभियान स्थगित गर्नु नै उचित हुन्छ । 
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

