काठमाडौं । सरकारले बालबालिकालाई स्वर्णभस्म-स्वर्णकल्प ‘इम्युन बुस्टर’का रूपमा वितरण गर्ने तयारीप्रति बालरोग विशेषज्ञहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटी (नेप्स) ले औपचारिक असहमति जनाएको छ ।
अध्यक्ष डा.अरुण कुमार न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा सोसाइटीले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, गुणस्तर, बालसुरक्षा, जोखिम मूल्याङ्कन र नियामक स्पष्टता नपुगेको कारण यो अभियान तत्कालै रोक्नुपर्ने माग गरेको छ ।
वैज्ञानिक आधार छैन, जोखिम बढी
सोसाइटीका अनुसार शिशुहरूलाई स्वर्णकल्प सेवन गराउँदा प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको कुनै वैज्ञानिक आधार छैन । बरु, यसमा हेभी मेटल -सुन_ को सम्भावित जोखिम रहन्छ ।
त्यस्तै, नेपालमा गरिएका बजार सर्वेक्षणहरूले केही आयुर्वेदिक उत्पादनमा सिसा -लेड_, पारो -मर्क्युरी_, आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै सोसाइटीले बालस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।
पेडियाट्रिक सोसाइटीका सिफारिस
- स्वर्णभस्म/स्वर्णकल्प वितरण कार्यक्रम तत्काल स्थगन गर्नुपर्ने ।
- औषधि व्यवस्था विभागले वैज्ञानिक प्रक्रिया, नियामक पारदर्शिता र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने ।
- कार्यक्रमले शिशुहरूलाई समेट्ने भए उमेर सुरक्षा सम्बन्धी चेतावनी स्पष्ट राख्नुपर्ने ।
- सार्वजनिक प्रयोग गर्नु परेमा, सुरक्षित छ भन्ने प्रमाणित अनुसन्धानपछि मात्र सुरु गर्नुपर्ने ।
- सरकारलाई स्तनपान, समयमै खोप, भिटामिन–ए, पखालामा जिङ्क, पोषण जस्ता प्रमाणित उपायहरूमा लगानी प्राथमिकता दिन सिफारिस ।
अभिभावक र चिकित्सकलाई सन्देश
सोसाइटीले अभिभावक र चिकित्सकलाई सावधानी अपनाउन आग्रह गर्दै केही स्पष्ट सन्देश पनि दिएको छ-
- १२ महिनाभन्दा कम उमेरका शिशुलाई मह नदिनुहोस् ।
- स्वर्णभस्मःस्वर्णकल्पको ‘इम्युन बुस्ट’ दाबीबारे उच्च गुणस्तरीय प्रमाण नआइन्जेसम्म प्रयोग नगर्नुहोस् ।
- बाल स्वास्थ्य सुदृढ बनाउन विशेष स्तनपान, समयमै खोप, उचित पोषण, स्वच्छता र समयमै उपचार नै प्रमाणित उपाय हुन् ।
- स्वर्णभस्म सेवन पश्चात कुनै प्रतिकूल असर देखिए तत्काल नजिकैको बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस् ।
पेडियाट्रिक सोसाइटीले संक्षेपमा भनेको छ– १२ महिना मुनिका शिशुमा मह निषेधित भएको पृष्ठभूमिमा तथा सुन (गोल्ड) सम्बन्धी सम्भावित जोखिम र नियामक प्रक्रियामा स्पष्टता नआएसम्म यो अभियान स्थगित गर्नु नै उचित हुन्छ । 
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२



