नेभिगेशन

औषधि प्रतिरोधी क्षयरोगीको उपचारमा पाँचदेखि १० लाख खर्च

नेपाल हेल्थ न्युज, भक्तपुर । नेपालमा औषधि प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्ट टिबी–डिआर टिबी) को उपचारमा सरकारले एक जना बिरामीका लागि पाँचदेखि १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार सामान्य क्षयरोगीको उपचारमा करिब ५० हजार रुपैयाँ लाग्ने गरे पनि औषधिले काम गर्न छाडेपछि डिआर टिबी भएमा खर्च एकदमै बढ्ने गर्दछ।

“एक जना डिआर टिबी बिरामीको उपचारमा पाँचदेखि १० लाख रुपैयाँ लाग्छ,” डा. तिवारीले भन्नुभयो।

नेपाल सरकारले क्षयरोग बिरामीको परीक्षण, औषधि र उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर पछिल्लो समय डिआर टिबीका बिरामी बढ्दै गएकाले उपचार खर्च र चुनौती दुवै बढेको विशेषज्ञहरूले बताएका छन्।

केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहले औषधि प्रतिरोधी क्षयरोगको उपचार लामो समय लाग्ने र खर्चिलो हुने भएकाले चिकित्सकहरूले औषधि सिफारिस गर्दा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो।

“कुनै औषधि प्रयोग गर्नुभन्दा पहिले त्यसको प्रतिरोध क्षमता जाँच गरेर मात्र चलाउनुपर्छ,” उहाँले भन्नुभयो। “डिआर टिबी बिरामीलाई सामान्य क्षयरोगीभन्दा उपचार समय लामो लाग्छ, खर्च पनि धेरै हुन्छ।”

आर्थिक वर्ष २०८१, ८२ मा ३९ हजार ११८ जनामा क्षयरोग पुष्टि भएकोमा ६२५ जनामा औषधि प्रतिरोधी क्षयरोग (डिआर टिबी) देखिएको केन्द्रले जनाएको छ। तीमध्ये ३९७ जना मात्र उपचारको दायरामा रहेका छन् भने बाँकी उपचार बाहिर छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा करिब दुई हजार आठ सय जना डिआर टिबी बिरामी रहेको अनुमान गरेको छ। नेपालमा डिआर टिबीको उपचार सफलतादर हाल ७८ प्रतिशत रहेको छ।

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा सो भाइरस निरोगी व्यक्तिमा सर्ने जोखिम उच्च हुने गर्छ । (यो समाचार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रमबाट बनाइएको हो ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष