नेभिगेशन

डा. लेखजङ थापाको डिभोर्स नगरी दोस्रो विवाह भन्ने आरोप झुटो, प्रमाणसहित खण्डन 

मेरो पारिवारिक जीवन कानुनी र पारदर्शी छ-डा. थापा

नेपाल हेल्थ न्युज, काठमाडौं । रूपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ थापाले आफ्नो निजी जीवनलाई लिएर मिडियामा आएका समाचार झुटो भएको दाबी गरेका छन्। 

‘डिभोर्स नगरी दोस्रो विवाह गरेको’ भन्ने आरोपप्रति उनले प्रमाणसहित खण्डन गर्दै आफ्नो पारिवारिक जीवन कानुनी र पारदर्शी रहेको स्पष्ट पारेका छन्।

डा. थापाले ९६ वर्षीया आमासँग उम्मेदवार बनेको खुशी बाँड्न पहिलो फ्लाइटमै रूपन्देही जान चाहेको तर काठमाडौंमा निजी जीवनबारे उठेका प्रश्नहरूको उत्तर दिन बाध्य भएको बताए। उनले भने “मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। यो आक्रमण मेरो व्यक्तिगत नभई राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित प्रहार हो।”

“दुई विवाह गरेको सत्य हो, सम्बन्धविच्छेद पनि”

थापाले जीवनमा दुई पटक विवाह गरेको स्वीकार गरे। उनका अनुसार, पहिलो विवाह कानुनी रूपमा अन्त्य भइसकेको र त्यसभन्दा ठूलो सत्य भनेको सम्बन्धविच्छेद भएकी श्रीमतीसँगको सन्तानप्रति आफू अझै जिम्मेवार बाबु हुनु हो। उनले भने, “परिस्थितिका कारण सम्बन्धविच्छेद भए पनि म सन्तानलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिन तयार छु। त्यसमा मलाई कुनै ग्लानी छैन।”

बालबालिकाको भविष्यमा जोड

न्युरोचिकित्सकका रूपमा १४ वर्षको अनुभव बोकेका थापाले बालबालिकाको मनोविज्ञानमा पारिवारिक कलहले पर्ने असर नजिकबाट नियालेको बताए।

“सम्बन्धविच्छेद भए पनि बच्चाको भविष्य बिग्रनु हुँदैन भन्ने मेरो लागि महत्त्वपूर्ण कुरा हो। त्यसैले म पूर्वश्रीमतीसँग सौहार्दपूर्ण सम्बन्ध राखेको छु,” उनले स्पष्ट पारे।

पेशाबाट राजनीतिमा

पेशागत जीवन खुला किताबझैँ भएको बताउने थापा पेशामा सन्तुष्ट भए पनि देशमा बढ्दै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको बताएका छन्। “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। व्यक्तिगत कारणले पार्टीमाथि दाग नलागोस् भन्ने चाहन्छु,” उनले भने।

उम्मेदवार छनोट प्रक्रिया

रूपन्देही–३ का लागि उम्मेदवार बन्न थापाले ३५ दिन लामो बहुआयामिक छनोट प्रक्रिया पार गरेका थिए। यसलाई नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यासका रूपमा लिइएको छ। उनले भने, “रूपान्तरणको सुनामी ल्याउन म तयार छु। तर पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वीकार र पालना गर्नेछु।” divorce-1756788396.jpg
divorce-2-1756788407.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप रिपोर्ट विशेष