नेपाल हेल्थ न्युज,चितवन । साढे पाँच वर्षअघि चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) मा भएको मिर्गौला प्रत्यारोपण प्रकरणमा उच्च अदालत पाटनले जिल्ला अदालत ललितपुरको फैसला सदर गर्दै १४ जनालाई सफाइ दिएको छ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले फैसला सुनाउँदै, अघिल्लो जिल्ला अदालतको निर्णयलाई यथावत् राखेको हो। यसअघि जिल्ला अदालत ललितपुरले २५ माघ २०७९ मा सो प्रकरणमा सुनुवाइ गर्दै १४ जनालाई निर्दोष ठहर गरेको थियो।
उक्त फैसलाविरुद्ध २४ कात्तिक २०८० मा दुई वटा रिट र ७ चैत २०८१ मा अर्को एउटा छुट्टै रिट दायर भएका थिए। तर अदालतले ती सबै रिट खारेज गर्दै जिल्ला अदालतको निर्णयलाई मान्यता दिएको हो।
सफाइ पाउनेमा समितिका संयोजक डा. बालकृष्ण कालाखेती, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का प्रमुख संचालन अधिकृत डा. सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का कानूनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले रहेका छन् ।
यस्तै सो कलेज मा कार्यरत डा. भूषण तिमिल्सिना, डा. राकेश बर्मा, ललितपुर महानगरपालिका वडा न – ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रसाशन कार्यालय ललितपुरका नबराज केसी र राम कुमार केसीले पनि सफाई पाएका छन् ।
२०७६ जेठ २७ मा पुरानो मेडिकल कलेजमा भएको मिर्गौला प्रत्यारोपणप्रति शंका जनाउँदै उजुरी परेपछि प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्यूरो, बबरमहलले अनुसन्धान अघि बढाएको थियो। सोही आधारमा २०७७ असार २७ मा विशेष अपरेसन चलाएर चिकित्सक, कर्मचारी, स्थानीय जनप्रतिनिधि र बिरामीहरूलाई नियन्त्रणमा लिइएको थियो।
शुरुमा यो मुद्दा मानव बेचबिखनसम्बन्धी कसुरमा अघि बढाइए पनि, पछि जिल्ला सरकारी वकिलको कार्यालयले मानव अङ्ग प्रत्यारोपणसम्बन्धी ऐन अनुसार अभियोजन गर्न निर्देशन दिएको थियो। त्यसपछि अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरमार्फत अगाडि बढाई २०७७ साउन १९ मा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
फैसला अनुसार चार जना दोषी ठहर भएका छन्। उनीहरूमा नक्कली कागजात प्रयोग गरी मिर्गौला दिने र लिने, लेनदेन मिलाउने कार्यमा संलग्न नागार्जुन नपा–३ का सन्तोष राई , दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास र नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राई ठहर गरेको थियो ।
यो फैसलासँगै पुरानो मेडिकल कलेजसँग जोडिएको चर्चित मिर्गौला प्रत्यारोपण प्रकरणमा धेरै व्यक्तिहरू कानुनी रूपमा दोषमुक्त भएका छन्, भने मुख्य संलग्न ठहरिएका केही व्यक्तिहरूलाई मात्र सजाय दिइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
