नेभिगेशन

१,७९४ कैदी जोखिममाः तीनजनाको उपचारमै निधन 

नेपाल हेल्थ न्युज, सुनसरी । अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनको अवधिमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ। उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएका कैदीहरू उपचारकै क्रममा ज्यान गुमाइरहेका छन्।

पछिल्लो घटना बुधबार दिउँसो भएको हो। सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव अचानक बेहोस भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका यादवको बुधबार साँझ मृत्यु भएको हो।

यसअघि सोमबार एकैदिन दुई कैदीको ज्यान गएको थियो। सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको बीपी प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। उराव कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षका कैदी थिए।

शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उरावलाई धरान लगिएको थियो। सोमबार बिहान उपचारकै क्रममा उनको मृत्यु भयो। त्यही दिन वान्ता हुने र शरीर नचल्ने समस्या देखिएका राई पनि उपचारकै क्रममा निधन भए।

लगातार तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले बुधबार रातिदेखि नै कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार कारागारका दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।

“मध्यरातसम्म १६० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण भएको छ। रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ,” एसपी तिम्सिनाले जानकारी दिए।

झुम्का कारागारका दुवै ब्लकमा गरी हाल १,७९४ जना कैदी रहेका छन्। लगातार हुने मृत्युका कारण अन्य कैदीहरूमा समेत त्रास फैलिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट