नेपाल हेल्थ न्युज, काठमाडौं । उपत्यकासहित देशका विभिन्न सहरहरू अहिले आन्दोलित छन्। ‘जेनजी’ नामक युवा पुस्ताले उठाएको भ्रष्टाचारविरोधी आन्दोलनले केही दिनयता सडक तताएको छ। सुरुमा शान्तिपूर्ण रुपमा अघि बढेको विरोध हिजो नयाँ बानेश्वर केन्द्रित प्रदर्शनसँगै हिंसात्मक र रक्तपातपूर्ण मोडमा पुगेको छ।
१९ को मृत्यु, सयौं घाइते
आन्दोलन चर्किँदै जाँदा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
ट्रमा सेन्टरमा ८ जना,
एभरेस्ट अस्पतालमा ३ जना,
सिभिल अस्पतालमा ३ जना,
त्रिवि शिक्षण अस्पतालमा १ जना,
केएमसी अस्पतालमा २ जना र
इटहरीमा थप २ जना मारिएका छन्।
घाइतेको संख्या ३४७ पुगेको छ। तीमध्ये सिभिलमा १००, एभरेस्टमा १०२, ट्रमामा ५९, केएमसीमा ३७, वीरमा ६, पाटनमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जना उपचाररत छन्।
अस्पताल स्रोतका अनुसार धेरैलाई टाउको र छातीमा गोली लागेको छ। ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार १० जना गम्भीर अवस्थामा छन् भने एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीले ४ जना जोखिमपूर्ण अवस्थामा रहेको जनाए।
बानेश्वरः आन्दोलनको केन्द्रबिन्दु
आन्दोलनको केन्द्र नयाँ बानेश्वर हो—संसद भवनको छेउ। माइतीघरदेखि अघि बढेको र्यालीले ब्यारीकेड तोड्दै बानेश्वर पुग्दा प्रहरी र प्रदर्शनकारीबीच झडप सुरु भयो । सुरुमा प्रहरीले पानीको फोहरा प्रयोग गर्यो। त्यसपछि पनि भीड नियन्त्रणमा नआएपछि अश्रुग्यास प्रहार गरियो। अन्ततः गोली चलाउन पुग्दा अवस्था झन् विस्फोटक बन्यो। कर्फ्यु जारी भएको क्षेत्रमै हजारौं युवा भेला भई संसद भवनलाई चारैतिर घेराउ गरे। केही प्रदर्शनकारी त भवनभित्र छिर्न समेत सफल भए।
कर्फ्यु र सेना परिचालन
स्थिति नियन्त्रण बाहिर जाँदा काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर, सिंहदरबार, शंखमुल, तीनकुने लगायतका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्यो। शीतल निवास, सिंहदरबार, बालुवाटार, लैनचौरजस्ता संवेदनशील क्षेत्रलाई पनि कर्फ्युमा राखियो। पहिलो पटक सरकारले सेना समेत परिचालन गरेको छ।तर, कर्फ्युको प्रभाव कमजोर देखियो। प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै सडकमा उपस्थित भएर नारा घन्काइरहे।
‘जेनजी’को विद्रोही स्वर
यो आन्दोलनलाई नेतृत्व गर्ने युवा पुस्ता आफूलाई ‘जेन(जी’ भनेर चिनाउँछन्। उनीहरूको मूल माग भने भ्रष्टाचार अन्त्य, जवाफदेही राजनीतिको निर्माण र असमानताविरुद्ध आवाज हो। आन्दोलनमा सहभागी २१ वर्षीय एक युवाले भने, “हामीलाई भविष्यबिहीन बनाउन खोजियो। अब चुप लागेर बस्दैनौं।” सामाजिक सञ्जालमा सक्रियता देखाउँदै आएको यो पुस्ताले सडकमा उत्रिँदा शासनसत्ताले चिन्नुपर्ने नयाँ जनशक्ति उदाउँदै गरेको छ भन्ने संकेत मिलेको छ।
लोकतन्त्रको नयाँ मोड
जेनजीको आन्दोलन अझै थामिएको छैन। कर्फ्यु, अश्रुग्यास र गोलीपछिसमेत उनीहरूको भीड हटेको छैन।राजनीतिक विश्लेषकहरू भन्छन्—यो केवल ‘भ्रष्टाचारविरोधी आन्दोलन’ मात्र होइन, नयाँ पुस्ताको असन्तोष र प्रणालीप्रति रोषको विस्फोट हो। यस आन्दोलनले लोकतन्त्रको मूल संरचना र शासनशैलीमाथि गहिरो प्रश्न खडा गरेको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
