नेभिगेशन

महिलामा पुरुषभन्दा बढी पिसाबको सङ्क्रमण किन हुन्छ ?

नेपाल हेल्थ न्युज, काठमाडौं । धेरैजसो महिलाहरूले आफ्नो जीवनको कुनै न कुनै समयमा पिसाबमा पोल्ने, बारम्बार शौचालय लाग्ने वा पिसाब गर्दा दुख्ने समस्या अनुभव गरेका हुन्छन्। यस्तो अनुभव केवल असहज मात्र होइन, कहिलेकाहीँ गम्भीर सङ्क्रमणको संकेत पनि हुन सक्छ, जसलाई ‘यूटीआई’ अर्थात् यूरिनरी ट्रयाक इन्फेक्शन भनिन्छ।

विश्वभर हरेक वर्ष करोडौं मानिसहरू यूटीआईबाट प्रभावित हुन्छन्। यद्यपि यो समस्या पुरुष र बालबालिकामा पनि हुन सक्छ, महिलाहरूमा यसको जोखिम धेरै हुन्छ।

यूटीआई किन हुन्छ ?

सामान्यतया यो सङ्क्रमण पिसाब नली, पिसाब थैली र कहिलेकाहीँ मिर्गौलासम्म पुग्न सक्छ। यस्तो समस्या प्रायः मलद्वार क्षेत्रबाट आउने ई.कोली जस्ता ब्याक्टेरियाले निम्त्याउँछन्, जुन मूत्रनलीमार्फत भित्र पस्छन्।

महिलाको मूत्रनली छोटो हुने भएकाले ब्याक्टेरिया सजिलै पिसाबको मार्ग हुँदै भित्र पस्न सक्छ। त्यस्तै, उमेर बढेसँगै हुने हर्मोन परिवर्तन—जसमा विशेषतः ‘इस्ट्रोजेन’ कम हुनु—पनि यो जोखिम बढ्ने अर्को कारण हो।

लक्षणहरू के-के देखिन्छन् ?

यूटीआई हुँदा देखिने लक्षणहरू यस्ता हुन सक्छन्ः

  • पिसाब गर्दा पोल्ने वा दुख्ने
  • बारम्बार पिसाब लागिरहने अनुभव
  • धमिलो पिसाब वा रगत मिसिएको पिसाब
  • तल्लो पेट वा ढाडको तल्लो भाग दुख्ने
  • ज्वरो आउने वा काम गर्न गाह्रो हुने
  • वृद्धहरूमा झन् मानसिक भ्रम, रीस, वा वान्ता हुने लक्षण देखिन सक्छ

के यो आफैं निको हुन्छ ?

कतिपय अवस्थामा शरीरले यस्तो सङ्क्रमणलाई आफैं निको पार्न सक्छ। तर धेरैजसो केसमा एन्टिबायोटिक औषधि आवश्यक पर्छ। समस्या के भने, यस्ता औषधिहरूमा ब्याक्टेरिया बिस्तारै प्रतिरोधी बन्दै गएका छन्, जसले उपचारलाई जटिल बनाइरहेको छ।

निदान कसरी गरिन्छ ?

सबैभन्दा विश्वसनीय विधि भनेको मिडस्ट्रीम यूरिन कल्चर हो। यस परीक्षणबाट कुन ब्याक्टेरियाले सङ्क्रमण गरिरहेको छ भन्ने पत्ता लगाइन्छ र त्यसअनुसार उचित एन्टिबायोटिक तय गरिन्छ।

रोकथाम कसरी गर्ने ?

यूटीआई बारम्बार दोहोरिने समस्या महिलामा सामान्य हो। यस्तोबाट बच्नका लागि केही सावधानी अपनाउन सकिन्छ

  • शौचालय गएपछि अगाडिबाट पछाडि पुछ्ने बानी
  • यौन सम्पर्कअघि र पछि यौनाङ्ग सफा गर्ने
  • प्रशस्त पानी पिउने र पिसाब थामेर नबस्ने
  • यौन सम्पर्कपछि चाँडो पिसाब फेर्ने
  • सुतीको अन्डरवेयर लगाउने र फोहोर प्याड तुरुन्त फेर्ने

कतिपय अवस्थामा चिकित्सकले दैनिक सानो मात्रा एन्टिबायोटिक वा योनि एस्ट्रोजेनको प्रयोग पनि सिफारिस गर्न सक्छन्।

के यो सङ्क्रामक रोग हो ?

यूटीआई यौन सम्पर्कसँग सम्बन्धित हुन सक्छ तर यसलाई प्रत्यक्ष रूपमा यौनजन्य रोग मानिँदैन। तर यौन सम्पर्कको बेला ब्याक्टेरिया मूत्रनलीमा पुग्न सक्ने सम्भावना उच्च हुन्छ।

दीर्घकालीन समस्या पनि हुन सक्छ ?

हो, कतिपय अवस्थामा यूटीआई बारम्बार दोहोरिने वा लामो समयसम्म रहने बनाइदिन्छ। केही ब्याक्टेरिया पिसाब थैलीको भित्तामा बसेर शरीरको रोग प्रतिरोधात्मक प्रणाली र औषधिबाट लुकेर बस्न सक्छन्, जसले गर्दा बारम्बार समस्या देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख