नेपाल हेल्थ न्युज, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ प्रत्यारोपण सर्जन डा.पुकार चन्द्र श्रेष्ठले उमेर हदका कारण असोज ५ गतेबाट अवकास प्राप्त गर्नुभएको छ ।
असोज ७ गते केन्द्रले १३ वर्ष सेवा गरेको उपलक्ष्यमा श्रेष्ठलाई सम्मानसहित बिदाइ गर्यो । सो अवसरमा डा. श्रेष्ठकी पत्नी नविना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
बिदाई कार्यक्रममा उपस्थित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापा, प्रत्यारोपी झंक श्रेष्ठ, केन्द्रका चिकित्सक डा. कल्पना श्रेष्ठ लगायतले डा.श्रेष्ठलाई धन्यवाद दिनुभएको छ । विदाइ समारोहमा स्वयं डा. पुकार चन्द्र श्रेष्ठले केन्द्रको स्थापना कालदेखि साथ दिने सबैलाई स्मरण गर्दै भावुक हुँदै भन्नुभयो—‘शून्य अवस्थाबाट सुरु भएको केन्द्र आज यो उचाइमा आइपुग्नु सबैको सामूहिक प्रयास हो। भविष्यमा पनि मैले सक्ने सहयोग गर्नेछु ।’ सो अवसरमा ‘केन्द्रको अन्तरकथा’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।
बि.सं. २०६९ मा सो संस्था सुरु भएको थियो । भक्तपुर अस्पतालले दिएको एउटा टेबल र कुर्सीबाट सेवा थालनी गरिएको थियो । केन्द्रमा हालसम्म १५०० भन्दा बढी मिर्गौला प्रत्यारोपण, ३५ वटा कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । साथै ७ जनाको मस्तिष्क मृतकबाट अंगदान गरी १३ जनामा मिर्गौला, ४ जनामा कलेजो तथा १ जनामा संयुक्त मिर्गौला–कलेजो प्रत्यारोपण गरिएको छ ।
वास्तवमा नेपालमा अंग प्रत्यारोपण सेवाको विकास, संस्थागत संरचना र अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाउने काममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ठूलो भूमिका खेलेको छ । तर यसको नेतृत्व सधैं विवाद, राजनीतिक हस्तक्षेप र ‘आफ्नो मान्छे राख्ने’ दौडधुपले घेरिएको देखिन्छ । अब बन्ने कार्यकारी निर्देशक चाकडी शैलीमा भन्दा पनि खुल्ला प्रतिस्पर्धामा क्षमतावान व्यक्ति नियुक्ती गर्नुपर्ने आवश्यकता देखिन्छ ।
अवकासप्राप्त कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रमा तीन कार्यकाल पूरा गर्नुभयो । नेपालमा प्रचलित प्रावधानअनुसार कुनै पनि पदाधिकारीले दुई कार्यकालभन्दा बढी पद धारण गर्न सक्दैन भन्ने प्रष्ट धारणा भए पनि डा. श्रेष्ठ अपवाद साबित हुनुभयो । उहाँको कार्यकाल केवल चिकित्सकीय योगदानका आधारमा मात्र चर्चा भएको छैन । स्वास्थ्य क्षेत्रमा उहाँको परिचय ‘कुनै पनि सरकारको मन जित्न सक्ने’ चिकित्सकको रुपमा पनि गरिएको छ । कांग्रेस, एमाले वा माओवादी—जोकसैको सरकार आए पनि उहाँले राजनीतिक सम्बन्ध र व्यक्तिगत पहुँच प्रयोग गरी पुनः नियुक्ति लिने रणनीति सफल पार्नुभयो । बीचमा भने केन्द्रको नेतृत्व प्रा.डा. प्रेमराज ज्ञवालीले एक वर्षका लागि सम्महाल्नुभएको थियो । डा. श्रेष्ठ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका भाइ हुनुहुन्छ । हालै उहाँ पुनः स्वास्थ्य मन्त्री बन्ने दौडमा रहेको चर्चा बढेको छ ।
यसले प्रश्न उठाएको छ— के नेपालमा योग्यता र कार्यसम्पादन भन्दा बढी राजनीतिक पहुँचले स्वास्थ्य संस्थाको नेतृत्व निर्धारण गर्छ ? के संवैधानिक आयोग वा मन्त्रालयले यस्ता नियुक्तिमा समान अवसर र पारदर्शिता सुनिश्चित गर्न सकेका छन् ? र प्रत्यारोपण केन्द्र जस्तो संवेदनशील संस्थाको नेतृत्वमा राजनीतिक हस्तक्षेपले भविष्यमा अंग प्रत्यारोपण सेवाको गुणस्तरलाई असर गर्ने हो ? डा. श्रेष्ठले हालै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर स्वास्थ्य मन्त्री हुने इच्छा प्रष्ट पारेको हल्ला छ । यसरी एक चिकित्सकले प्रशासनिक नेतृत्वदेखि राजनीतिक शक्तिको केन्द्रमा पुग्ने प्रयासले नेपालमा डाक्टर, राजनीतिक शक्तिबीचको सम्बन्धबारे गम्भीर प्रश्न खडा गरेको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्ला वर्षमा मिर्गौला प्रत्यारोपणलाई नेपालमै नियमित बनाउन, विदेशिनु नपर्ने गरी उपचार प्रणाली विस्तार गर्न, जनचेतना र दातृ अभियानलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । तर, नेतृत्व तहमा हुने खिचातानी, कार्यकाल लम्ब्याउने लोभ र राजनीतिक दलसँगको साँठगाँठका कारण यसको छवि प्रायः विवादित बन्दै आएको छ । अब प्रत्यारोपण केन्द्रको भविष्य कसले नेतृत्व गर्छ भन्ने प्रश्न मात्र होइन, नेपालमा स्वास्थ्य नेतृत्वको पारदर्शिता र मर्यादाबारे ठूलो बहसको आवश्यकता देखिन्छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
