नेभिगेशन
 स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक सार्वजनिक

जेनजी आन्दोलनमा २ हजार ३ सयभन्दा बढी घाइतेमध्ये ३० जना अझै उपचाररत

 अस्पतालहरूमा ४९ जनाको मृत्यु

नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार स्थिति सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालहरूमा अहिले पनि ३० जना घाइते उपचाररत रहेका छन्।

मन्त्रालयले देशभरका स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँगको समन्वयपछि प्राप्त विवरण सार्वजनिक गर्दै हालसम्मको स्वास्थ्य सेवा अवस्थाबारे जानकारी दिएको हो।

विभिन्न अस्पतालमा उपचाररत ३० जना

मन्त्रालयका अनुसार काठमाडौंका अस्पतालहरूमा उपचाररत घाइतेहरूको संख्या सबैभन्दा बढी छ। राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, सिभिल अस्पतालमा एक जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना गरी राजधानीका अस्पतालहरूमा मात्रै २४ जना घाइतेको उपचार भइरहेको छ।

त्यसैगरी, बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी थप छ जना अन्य प्रदेशका अस्पतालहरूमा उपचाररत छन्।

दुई हजार २३८ जना डिस्चार्ज, ४९ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार २०८२ असोज १२ गतेदेखि हालसम्म आन्दोलनका क्रममा विभिन्न अस्पतालमा उपचारका लागि आएका घाइतेहरूको कुल संख्या दुई हजार ३१६ पुगेको छ। तीमध्ये उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन्। तर, अस्पतालहरूमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ।

जेनजी क्लिनिकमार्फत सेवा लिने नौ जना

त्यसै अवधिमा ‘जेनजी क्लिनिक’मार्फत स्वास्थ्य सेवा लिएका घाइतेहरूको संख्या नौ जना रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। यी क्लिनिकहरूमा प्राथमिक उपचारपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य अस्पतालहरूमा सिफारिस गरिएको बताइएको छ।

आपत्कालीन स्वास्थ्य सेवा तयारी अवस्थामा

मन्त्रालयले आन्दोलनका कारण आकस्मिक स्वास्थ्य सेवामा असर नपरोस् भन्ने उद्देश्यले आवश्यक जनशक्ति, औषधि सामग्री र अस्पतालका आपत्कालीन कक्षहरू तयारी अवस्थामा राखिएको जनाएको छ। साथै, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूलाई निरन्तर जानकारी संकलन र तत्काल सहयोगका लागि सचेत रहन निर्देशन दिइएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयको अपिल

स्वास्थ्य मन्त्रालयले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी, अस्पताल र स्वेच्छिक रक्तदाता प्रति आभार प्रकट गर्दै आवश्यकताअनुसार थप समन्वय र सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष