नेपाल हेल्थ न्युज, पशुपतिनगर इलाम । असोज १८ गते रातिको भीषण बाढी र पहिरोले थिलथिलो बनेको इलाममा पैदल मार्गबाट उद्धार गर्न नसकिएका गर्भवती महिलाहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ। बिहानैदेखि सेनाको हेलिकोप्टर उद्धार कार्यमा खटिएको हो।
चार गर्भवती महिलाको हवाई उद्धार
इलाम जिल्लाका विभिन्न स्थानमा फसेका चार जना गर्भवती महिलालाई आज बिहान नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी झापा र विराटनगरका अस्पतालमा पुर्याइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
माइजोगमाई गाउँपालिका–५ शिरसिरेकी विद्या राई, सन्दकपुर गाउँपालिका–१ छाँगेकी कमलादेवी राई, पाँचथरको फिदिम नगरपालिका–१२ पुल भञ्याङ्गकी २४ वर्षीया लिम्सा लिम्बु र संखुवासभा भोटखोला गाउँपालिका–३ हुङगुङकी ४२ वर्षीया छिटेक भोटे गरी जम्मा चार जना गर्भवती महिलाको उद्धार गरिएको हो।
उनीहरूलाई बी एण्ड सी अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगरमा भर्ना गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
माबुबाट पनि हेलिकोप्टर उद्धार
यसअघि आजै बिहान इलामको माबु क्षेत्रबाट पनि चार जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। लगातारको वर्षा र पहिरोका कारण सडक मार्ग अवरुद्ध हुँदा पैदल उद्धार सम्भव नभएपछि हवाई उद्धार गरिएको गडिथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले बताउनुभयो। “स्थानीय सडक र पदमार्ग दुबै अवरुद्ध भएका कारण तत्काल उद्धार गर्न सकिने एकमात्र विकल्प हेलिकोप्टर थियो,” उहाँले भन्नुभयो, “गर्भवती महिलाहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा पुर्याइएको हो।”
उद्धार र राहत कार्य निरन्तर
इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालका अनुसार आज पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीहरू विभिन्न क्षेत्रमा खोज, उद्धार र राहत वितरणका काममा खटिएका छन्।
“बाढी र पहिरोले धेरै ठाउँमा सम्पर्क काटेको छ, तर उद्धार टोलीहरू हिजोदेखि लगातार सक्रिय छन्,” प्रमुख जिल्ला अधिकारी नेपालले बताइन्।
३७ जनाको मृत्यु, ठूलो मानवीय क्षति
शनिबार रातिको बाढी र पहिरोमा परी इलाममा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। अझै केही व्यक्तिहरु बेपत्ता रहेको र खोज अभियान जारी रहेको प्रशासनले जनाएको छ।
इलाम, पाँचथर र आसपासका पहाडी गाउँहरूमा पहिरोले घर, खेती र सडकहरूमा ठूलो क्षति पुर्याएको छ। स्थानीय बासिन्दा अझै सुरक्षित स्थानमा सर्न सकिरहेका छैनन् भने राहत सामग्री अभावका खबरहरू पनि आएका छन्।
सेनाको सक्रियता र सहकार्य
नेपाल सेनाको रणशार्दूल गण, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्त रूपमा उद्धार तथा राहत समन्वयमा जुटेका छन्। स्थानीय जनप्रतिनिधि र स्वयंसेवी संस्थाहरूले पनि जोखिममा रहेका बस्तीहरूमा सहयोग पुर्याइरहेका छन्।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
