नेभिगेशन
शरीरको प्रतिरोध प्रणालीबारे क्रान्तिकारी अनुसन्धानको सम्मान

‘रेग्युलेटरी टी–सेल’ खोज गर्ने तीन वैज्ञानिकलाई २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

 

नेपाल हेल्थ न्युज, स्टकहोम, स्वीडेन। यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार शरीरको प्रतिरोध प्रणाली  सम्बन्धी महत्वपूर्ण खोज र अनुसन्धान गर्ने तीन जना वैज्ञानिकहरूलाई प्रदान गरिने भएको छ।

नोबेल पुरस्कार समितिले घोषणा गरेको अनुसार, संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को र फ्रेड र्याम्स्डेल, र जापानका शिमोन साकागुची लाई सन् २०२५ को नोबेल पुरस्कार संयुक्त रूपमा प्रदान गरिनेछ।

 ‘रेग्युलेटरी टी–सेल’ को खोज स् शरीरका रक्षक

यी वैज्ञानिकहरूले शरीरको प्रतिरक्षा प्रणालीभित्र कार्य गर्ने ‘रेग्युलेटरी टी–सेल’ नामक विशेष कोषको भूमिका पत्ता लगाएका हुन्, जसले शरीरभित्र रोगसँग लड्ने प्रतिरोध क्षमता सन्तुलनमा राख्ने र स्व–प्रतिरक्षा रोगहरू रोक्ने महत्वपूर्ण कार्य गर्छ।

नोबेल समितिका अनुसार, “उनीहरूको खोजले शरीरका ‘रक्षक कोषहरू’ को कार्यविधि बुझ्न नयाँ दृष्टिकोण दिएको छ,” जसको आधारमा क्यान्सर, स्व–प्रतिरक्षात्मक रोग र स्टेम सेल प्रत्यारोपणपछिका जटिलता नियन्त्रण गर्ने नयाँ उपचार प्रविधि विकास भइरहेका छन्।

चिकित्सा क्षेत्रमा नयाँ सम्भावना

नोबेल समितिले सार्वजनिक गरेको विवरणमा भनिएको छ — “यी अनुसन्धानहरूले अहिले परीक्षण भइरहेका चिकित्सकीय उपचारहरूलाई अझ प्रभावकारी बनाउनेछन्।”

विशेषगरी क्यान्सर उपचारमा इम्युनोथेरापीलाई सुदृढ बनाउने, रुमाटोइड आर्थराइटिस, टाइप–१ डायबिटिज, मल्टिपल स्क्लेरोसिस जस्ता स्व–प्रतिरक्षात्मक रोगहरूलाई नियन्त्रण गर्न सहयोग गर्ने र स्टेम सेल प्रत्यारोपणपछि हुने अस्वीकृति रोक्ने नयाँ विधि विकासमा यी खोजले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

१, १ करोड स्वीडिश क्रोनरको पुरस्कार

विजेताहरूलाई संयुक्त रूपमा १, १ करोड स्वीडिश क्रोनर (करिब ८.७० लाख पाउन्ड) नगद पुरस्कार र नोबेल पदकद्वारा सम्मान गरिनेछ। नोबेल फाउन्डेशनका अनुसार, औपचारिक पुरस्कार वितरण कार्यक्रम हरेक वर्षजस्तै डिसेम्बर १० अल्फ्रेड नोबेलको वार्षिकोत्सवका दिन स्टकहोममा हुनेछ।

नोबेल पुरस्कारः मानवताको हितका लागि योगदानको सम्मान

नोबेल पुरस्कार हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी पाँच विधामा प्रदान गरिन्छ। सन् १९६८ मा स्वीडनको केन्द्रीय बैंकले अर्थशास्त्रका लागि छुट्टै पुरस्कार थप गरेको थियो। यी सबै पुरस्कारहरू स्वीडिस आविष्कारक र उद्योगपति अल्फ्रेड नोबेलको नाममा स्थापित भएका हुन्। नोबेलले आफ्ना सम्पत्तिको ठूलो हिस्सा ‘मानव जातिको हितमा योगदान गर्नेहरूलाई सम्मान गर्न’ कोषको रूपमा छुट्याएका थिए। नोबेल पुरस्कार पहिलो पटक सन् १९०१ मा प्रदान गरिएको थियो र त्यसयता यो विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कारका रूपमा स्थापित भएको छ।

 ‘मानव जातिको हितमा सर्वोच्च योगदान’ गर्नेहरूलाई सम्मान

नोबेल समितिका अनुसार, प्रत्येक वर्ष पछिल्ला १२ महिनाभित्र मानव जातिको हितका लागि उत्कृष्ट योगदान गर्ने व्यक्ति वा समूहलाई यो पुरस्कार प्रदान गरिन्छ। २०२५ को चिकित्साशास्त्र पुरस्कारले प्रतिरोध प्रणालीबारेको आधुनिक अनुसन्धानलाई सम्मानित गर्दै मानव स्वास्थ्य सुधारतर्फ नयाँ बाटो देखाएको भन्दै वैज्ञानिक समुदायले यस निर्णयको स्वागत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष