नेपाल हेल्थ न्युज, काठमाडौं । हाम्रो भान्साको र्याकमा पाइने तेलहरू – सस्तो वनस्पति र सूर्यमुखीदेखि महँगा जैतुन, नरिवल र आभकाडो तेलसम्म – स्वास्थ्यका दृष्टिले कस्तो असर पार्छन् भन्नेबारे लामो समयदेखि बहस चलिरहेको छ।
चिल्लो पदार्थ (फ्याट) शरीरका लागि आवश्यक पोषक तत्व हो, तर सबै प्रकारका फ्याट स्वास्थ्यका लागि उत्तिकै लाभदायक हुँदैनन्। कतिपयले रक्तनलीमा बोसो जमाएर मुटुको रोगको जोखिम बढाउँछन् भने, केहीले रक्तचाप र ‘खराब कलेस्टरोल’ घटाएर मुटु र दिमागलाई जोगाउन सहयोग गर्छन्।
तेलसम्बन्धी तीन भ्रमबारे प्रष्टिकरण
केम्ब्रिज विश्वविद्यालयकी पोषणविद् प्राध्यापक नीता फोरुहीका अनुसार हाम्रो खानपानमा प्रयोग हुने तेलबारे केही आमधारणा गलत छन्। उनले तीन प्रमुख भ्रमबारे प्रस्ट पारेकी छिन्ः
१. सूर्यमुखी र वनस्पति तेल अस्वस्थ छैनन्
धेरैले सूर्यमुखी वा वनस्पति तेल अत्यधिक प्रशोधन भएको र शरीरमा सुजन गराउने भन्दै प्रयोग नगर्न सल्लाह दिने गर्छन्। तर, वैज्ञानिक आधारमा यस्तो दाबी पुष्टि भएको छैन।
यी तेलहरूमा ‘सयाचुरेटेड फ्याट’ कम र ‘अनसयाचुरेटेड फ्याट’ ओमेगा-३ र ओमेगा-६ जस्ता) प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुको स्वास्थ्यमा सकारात्मक असर पार्छ। तुलनात्मक रूपमा घिउ वा नौनी जस्ता चिल्लोमा सयाचुरेटेड फ्याटको मात्रा बढी हुन्छ।
दैनिक पकाउने काममा सूर्यमुखी वा वनस्पति तेल प्रयोग गर्नु किफायती मात्र होइन, स्वास्थ्यका लागि पनि राम्रो विकल्प हो।
२. अचेलको मार्जरीन स्वास्थ्यको लागि ठीक छ
पहिले-पहिले मार्जरीनमा ‘ट्रान्सफ्याट’को मात्रा धेरै हुने हुँदा यो हानिकारक मानिन्थ्यो। तर, अहिले उत्पादन गरिने मार्जरीनहरूमा ट्रान्सफ्याटको मात्रा लगभग शून्य हुन्छ।
फोरुहीका अनुसार आधुनिक मार्जरीनले ‘खराब कलेस्टरोल’ घटाउन पनि मद्दत गर्न सक्छ। यसै कारणले अब यसलाई पूर्ण रूपमा अस्वस्थ ठान्नु आवश्यक छैन।
नोटः बटर (नौनी) पनि बेलाबेला प्रयोग गर्न सकिन्छ, तर दैनिक प्रयोगमा तेल वा कम फ्याटयुक्त विकल्प रोज्दा दीर्घकालीन स्वास्थ्यमा फाइदा पुग्छ।
३. हर किसिमको जैतुन तेल तार्न उपयुक्त हुँदैन
एक्स्ट्रा भर्जिन जैतुन तेलमा एन्टिअक्सिडन्ट र लाभदायक यौगिक हुन्छन्। तर, यसको ‘स्मोक पोइन्ट’ (तापक्रममा बिग्रिने बिन्दु) कम हुने भएकाले यसलाई धेरै तताउँदा विषाक्त पदार्थ बन्न सक्छ।
यसकारण एक्स्ट्रा भर्जिन जैतुन तेल सलाद वा पकाउनु नपर्ने परिकारहरूमा प्रयोग गर्नु उपयुक्त हुन्छ। चिप्स वा माछा जस्ता कुराहरू तार्न भने सूर्यमुखी वा वनस्पति तेल राम्रो विकल्प हो।
केकसरी प्रयोग गर्ने तेल ?
- दैनिक पकाउने कामका लागि सूर्यमुखी, वनस्पति वा सामान्य जैतुन तेल
- सलाद वा थोरै पकाउने परिकारका लागिस् एक्स्ट्रा भर्जिन जैतुन तेल
- तार्ने कामका लागि वनस्पति वा सूर्यमुखी तेल
- स्वादको विविधताका लागि नरिवल, आभकाडो वा तिलको तेल (पकाउनु नपर्ने परिकारहरूमा)
तेल छनोट गर्दा केवल स्वास्थ्यका लागि राम्रो भन्ने प्रचारमा मात्र नलागी, मूल्य, स्वाद, प्रयोग गर्ने विधि र पोषण सन्तुलन पनि विचार गर्नु उपयुक्त हुन्छ। प्राध्यापक फोरुही भन्छिन्, “विभिन्न प्रकारका तेल प्रयोग गरेर हेर्नुहोस् – कुनले स्वादमा, पोषणमा र स्वास्थ्यमा सन्तुलन ल्याउँछ भन्ने बुझ्नुस्।”
स्वास्थ्यको लागि लाभदायक: तितो र टर्रो स्वादका खानेकुराहरूको प्रभाव
सोमबार, असोज ६, २०८२
के चकलेट खाँदा डन्डीफोर आउँछ ? वा त्यो भ्रम मात्रै हो
मंगलबार, भदौ १७, २०८२
सुगर अथवा मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?
शुक्रबार, भदौ ६, २०८२

