नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा स्नायु विज्ञान उपचारमा नयाँ युग सुरु भएको छ । उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले अत्याधुनिक र अन्तर्राष्ट्रिय स्तरका उपकरण थप्दै आफ्नो सेवा क्षमता र गुणस्तरलाई नयाँ उचाइमा पुर्याएको छ ।
अस्पतालले पत्रकार सम्मेलन गरी हालै भित्र्याइएका अत्याधुनिक उपकरण र प्रविधिहरूको औपचारिक जानकारी गराएको हो । तीमध्ये कतिपय उपकरण नेपालमै पहिलो पटक प्रयोगमा आएका छन् ।
अस्पतालकी कार्यकारी अध्यक्ष प्रा.डा मधु दीक्षित देवकोटाका अनुसार, नयाँ प्रविधिहरूले शल्यक्रियालाई अझ सुरक्षित, सटीक र विश्वस्तरीय बनाउनेछ । ‘डाक्टर उपेन्द्र देवकोटाको दृष्टि थियो—नेपालमै अत्याधुनिक स्नायु उपचार सम्भव बनाउने । आज त्यो सपना हरेक प्रविधिसँग साकार हुँदैछ’ —उहाँले भन्नुभयो ।
प्रा. डा. देवकोटाका अनुसार, अस्पतालले मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीसम्बन्धी जटिल रोगहरू—जसले ज्यान लिन सक्ने वा पक्षघात गराउने जोखिम बोकेको हुन्छ—को उपचारमा विशेषज्ञ सेवा दिँदै आएको छ । अहिले थपिएका उपकरणहरूले न्युरोसर्जरीलाई नयाँ स्तरमा पुर्याउने विश्वास गरिएको छ ।
थपिएका अत्याधुनिक प्रविधि
न्युरो नेभिगेसन सिस्टम (स्टेल्थ–८)
नेपालमै पहिलो पटक भित्रिएको यो प्रविधिले दिमाग र मेरुदण्डको हूबहू थ्रीडी चित्रण गर्छ जसले शल्यक्रियामा रोगग्रस्त भाग मात्र लक्षित गर्न मद्दत गर्छ । पार्किन्सन, मिर्गी र चालसम्बन्धी रोगहरूका लागि डिप ब्रेन स्टिमुलेशन (डीबीएस) तथा लिजनिङ शल्यक्रियामा यो गेम–चेंजर मानिएको छ ।
रोबोटिक माइक्रोस्कोप (केनोभो ९००)
न्युरोसर्जनको “सहायक हात” मानिने यो माइक्रोस्कोपले थ्रीडी इमेजमार्फत मस्तिष्कका सूक्ष्म भागहरू स्पष्ट देखाउँछ । रोबोटिक गतिशीलता भएकाले यो सटीक रूपमा अपरेशन स्थलसँगै चल्छ । यसले लामो शल्यक्रियालाई सहज बनाउँछ र एकैदिन धेरै बिरामीको अपरेशन सम्भव बनाउँछ ।
ओ–आर्म मेशिन
मेरुदण्डको हड्डीमा शल्यक्रिया गर्दा प्रयोग हुने यो उपकरणले शल्य स्थल सटीक निर्धारण गर्छ । स्टेल्थ–८ सँग संयोजनमा प्रयोग गर्दा पार्किन्सन र मुभमेन्ट डिसअर्डरको उपचारमा क्रान्तिकारी प्रभाव पार्छ ।
इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ
अपरेशनका क्रममा मस्तिष्क र नसाबाट निस्कने स्नायु तरङ्ग मापन गर्ने यो प्रणालीले शल्यक्रियाको बीचमै स्नायु प्रणालीको अवस्था निगरानी गर्छ । यसले बिरामीको सुरक्षा स्तरलाई गुणात्मक रूपमा वृद्धि गर्छ ।
नेटस १२८ च्यानल ईईजी मेशिन
नेपालकै पहिलो १२८ च्यानल ईईजी मेशिनले इपिलेप्सी (छारे रोग) का लागि रोग उत्पन्न हुने मस्तिष्कको भाग पहिचान गर्न मद्दत गर्छ । बालबालिकामा देखिने कन्जेनिटल सिजर डिसअर्डर र बेहोस हुने अवस्थाको विश्लेषणमा पनि यो उपयोगी छ ।
ईनोमेड आरएफ मेशिन
रेडियो फ्रीक्वेन्सी मेशिनले पार्किन्सन, ट्राइजेमिनल न्युराल्जिया र मुभमेन्ट डिसअर्डरमा बिना शल्यक्रिया उपचार गर्न सहयोग पुर्याउँछ । पेन मेडिसिन क्षेत्रमा दीर्घ दुखाइका रोगहरूको उपचारमा समेत यसको प्रयोग सुरु भएको छ ।
कार्यक्रममा न्युरो सर्जरी विभाग प्रमुख डा.निकुञ्ज योगी, न्युरो सर्जन डा. सुरज थुलुङ र डा. सागर कोइराला, न्युरोलोजिस्ट डा. घनश्याम खरेल तथा एनेस्थेसियोलोजिस्ट डा.रुपेश राजभण्डारीले उपकरणहरूको प्रयोग विधि र फाइदाबारे प्राविधिक प्रस्तुति दिनुभएको थियो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलन गुरुङले कार्यक्रम सञ्चालन गर्दै अस्पतालको भावी योजनाबारे जानकारी दिँदै भन्नुभयो— हामी केवल प्रविधि मात्र भित्र्याउने होइन, त्यसलाई जनमुखी र सर्वसुलभ सेवा बनाउने दिशामा पनि केन्द्रित छौं।” अस्पतालले अबको योजना स्वरूप शल्यचिकित्सा सेवाको थप स्तरोन्नति, अनुसन्धान अभिमुख उपचार प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ। स्थापनाकालदेखि नै ‘आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित नहोस्’ भन्ने नीतिलाई निरन्तरता दिँदै आएको अस्पतालले आफ्नो सेवालाई अझ जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यद्यपी प्रा.डा.उपेन्द्र देवकोटाको सपनालाई प्रा. डा. मधु दीक्षित देवकोटाको नेतृत्वमा न्युरो अस्पतालले नयाँ प्रविधिहरूको माध्यमबाट जीवन्त बनाइरहेको छ— नेपालमै पहिलोपटक, विश्वस्तरीय उपचार अब आफ्नै देशमा ।

बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२



