नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरले मिनिमली इनभेसिव (शरीरमा कम चिरा पारेर, कम क्षति पुर्याएर गरिने) आधुनिक शल्यक्रियाको नयाँ अध्याय सुरु गरेको छ। सेन्टरमा पहिलोपटक कम्मरको नसा च्यापिएको समस्या (प्रोल्याप्स्ड लम्बर इन्टरभर्टेवल) मा दुरविन (एन्डोस्कोप) को माध्यमबाट गरिएको एन्डोस्कोपिक स्पाइन सर्जरी सफल भएको छ।
यो उपलब्धिले नेपालका सरकारी अस्पतालमा मिनिमली इनभेसिव प्रविधि कति द्रुत गतिमा अगाडि बढ्दैछ भन्ने स्पष्ट देखाएको छ। सरकारी अस्पतालमा दुरविनको प्रयोगबाट गरिएको स्पाइन सर्जरी यो पहिलो हो।
डा. सोम लामिछानेको नेतृत्वमा सफल शल्यक्रिया
उक्त ऐतिहासिक शल्यक्रिया राष्ट्रिय ट्रमा सेन्टरका इन्डोस्कोपिक स्पाइन सर्जन डा. सोम लामिछानेको नेतृत्वमा, डा. निकुञ्ज योगीको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। शल्यक्रिया टोलीमा डा.निलम खड्का, डा. सुलभ राज भण्डारी (एमसिएच रेजिडेन्ट), साथै अनुभवी नर्स र प्यारामेडिक्सहरू समेतको सक्रिय सहभागिता थियो।
डा. लामिछानेका अनुसार, बिरामीलाई कम्मरको नसा च्यापिएर उत्पन्न भएको तीव्र पीडाका कारण उठबस गर्न कठिन भइरहेको थियो। एन्डोस्कोपिक प्रविधिबाट गरिएको सर्जरीपछि बिरामी केही घण्टामै उठ्न सक्ने अवस्थामा पुगेका छन्।
कसरी गरिन्छ एन्डोस्कोपिक स्पाइन सर्जरी ?
यस प्रविधिमा केवल एक सेन्टिमिटरभन्दा सानो चिरा पारेर दुरविन (एन्डोस्कोप) भित्र पठाइन्छ।
एन्डोस्कोपमा जडित क्यामेरा र प्रकाशको सहायताले सर्जनले मेरुदण्डको भित्री संरचना प्रत्यक्ष हेरेर समस्या रहेको स्थानमा सटीक रूपमा डिस्कको च्यापिएको भाग हटाउने काम गर्छन्।
यसरी ठूलो चिरा, धेरै रगत बग्ने जोखिम वा लामो अस्पताल बसाइको आवश्यकता पर्दैन।
मुख्य फाइदा
डा. लामिछानेका अनुसार, एन्डोस्कोपिक स्पाइन सर्जरीले परम्परागत शल्यक्रियाभन्दा धेरै फाइदा पुर्याउँछ । यसमा सानो चिरा जसले घाउ छिटो निको हुन्छ। कम रगत बग्ने र न्यून संक्रमण, सर्जरीपछिको दुखाइ अत्यन्त न्यून, बिरामी केही घण्टामै हिँडडुल गर्न सक्ने, अस्पताल बसाइ छोटो – सामान्यतया १–२ दिनमै डिस्चार्ज, छिटो पुनः काममा फर्किन सकिने हुन्छ ।
कुन–कुन समस्या उपचारमा प्रभावकारी ?
एन्डोस्कोपिक स्पाइन सर्जरी मुख्यतः प्रोल्याप्स्ड लम्बर डिस्क, स्पाइनल स्टेनोसिस (मेरुदण्डको नसा थिचिने समस्या), डिस्क हर्नियेशन, नसामा दवाव वा क्रोनिक व्याक पेन (दीर्घकालीन कम्मर दुखाइ)मा धेरै प्रभावकारी मानिन्छ । ।
डा.निकुञ्ज योगीका अनुसार यो प्रविधिले धेरै बिरामीलाई ठूलो चिरा र लामो पुनःस्थापना अवधि बिना नै राहत दिलाउने सम्भावना बढाएको छ। सरकारी अस्पतालमा यस्तो प्रविधिको सुरुवात हुनु आफैंमा गौरवको विषय हो।
सरकारी अस्पतालमा नयाँ युगको शुरुवात्
राष्ट्रिय ट्रमा सेन्टरले यो प्रविधि प्रयोगमा ल्याएपछि नेपालका अन्य सरकारी अस्पतालहरूले पनि मिनिमली इनभेसिव प्रविधिको सम्भावना खोज्न सक्ने देखिएको छ। विश्वका विकसित मुलुकमा इन्डोस्कोपिक स्पाइन सर्जरी पछिल्लो दशकमा अत्यन्त लोकप्रिय बनेको छ र नेपालमा यसको विस्तार हुनु सार्वजनिक स्वास्थ्य प्रणालीमा नयाँ आयामको संकेत हो।
डा. लामिछाने भन्नुहुन्छ-
'हामीले सरकारी अस्पतालमै अत्याधुनिक प्रविधि लागू गरेर बिरामीलाई विश्वस्तरीय उपचार दिन सक्यौं भन्ने गर्वको क्षण हो। आगामी दिनमा यस्तो प्रविधि अझै नियमित सेवा रूपमा विस्तार गर्ने हाम्रो लक्ष्य छ।'
यो सफलतासँगै राष्ट्रिय ट्रमा सेन्टरले मिनिमली इनभेसिव प्रविधिलाई अपनाउँदै सरकारी स्वास्थ्य सेवामा आधुनिक प्रविधिको नयाँ मापदण्ड स्थापना गरेको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
