नेपाल हेल्थ न्युज, बागलुङ । बालबालिकाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने विश्वासका साथ बागलुङमा पहिलो पटक स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न गरिएको छ।
धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा सम्पन्न कार्यक्रममा एकदेखि पाँच वर्षसम्मका ४६३ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको हो।
आयोजक संस्था अनुसार, यस आयुर्वेदिक विधिबाट बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणाली सुधार गर्ने, मानसिक विकासमा टेवा पुर्याउने लगायतका उद्देश्य राखिएको छ।
धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. शरद पन्थीका अनुसार, स्वर्णविन्दु प्राशन कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कार्यक्रम हो। विगत चार वर्षदेखि दाङमा सञ्चालन हुँदै आएको यस कार्यक्रम यस वर्ष पहिलो पटक बागलुङ सहित २३ जिल्लामा विस्तार गरिएको हो। गण्डकी प्रदेशका बागलुङ र पोखरामा रहेका आयुर्वेद औषधालयमार्फत हाल यो कार्यक्रम अघि बढाइएको छ।
डा. पन्थीका अनुसार, स्वर्णविन्दु प्राशनको मात्रा पुष्य नक्षत्रको दिन बिहान खाली पेटमा खुवाउने परम्परा रहेको छ। यो विधि पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’मा समेत उल्लेख गरिएको छ।
यसमा प्रयोग हुने सामग्री—प्रशोधित स्वर्ण भष्म, घ्यु र मह—लाई विशेष अनुपातमा मिसाएर बालबालिकालाई खुवाइन्छ। धौलागिरी आयुर्वेद औषधालयका सूचना अधिकारी डा. कमल पौडेलका अनुसार, स्वर्णविन्दु प्राशन कुनै सामान्य मिश्रण मात्र होइन, यो वैज्ञानिक आधारमा आधारित परम्परागत विधि हो। यसले रोग प्रतिरोधात्मक क्षमता सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्दछ।
आयोजक संस्था र अभिभावक दुबै पक्षबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ। आगामी महिनाहरूमा पनि नियमित रूपमा कार्यक्रम जारी राखिने जनाएको छ।
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
