नेभिगेशन

बुबाको सम्झनाले जन्माएको न्युरो सर्जन

अहिले तपाईं के अध्ययन गर्दै हुनुहुन्छ ?
म बीर अस्पतालको न्युरो सर्जरी विभागमा एमसिएच गर्दैछु  । अहिले म एमसिएचको रेसिडेन्स विद्यार्थी हुँ ।

मेडिकल शिक्षा कहाँबाट सुरु भयो ?
मैले नोवेल मेडिकल कलेजबाट एमबीबीएस गरेँ र त्यसपछि लुम्बिनी मेडिकल कलेजबाट एमएस पूरा गरेँ ।

न्युरो सर्जरी रोज्ने कारण के हो ?
पारिवारिक प्रेरणाः मेरो ममी (आमा) शिक्षक हुनुहुन्छ । सानैदेखि उहाँको मार्गदर्शनमा पढाइमा राम्रो प्रदर्शन गर्दै आएँ । एसएलसीमा मेरो ब्याचको टपर थिएँ । परिवारले मलाई डाक्टर बनाउने इच्छा राखेको थियो ।

व्यक्तिगत अनुभवः एमबीबीएस दोस्रो वर्षको पढाइ चलिरहेको थियो । त्यही बेला ड्याडी (बुबा) दुर्घटनामा पर्नुभयो । स्थानीय हस्पिटलमा उहाँको टाउकोको शल्यक्रिया भयो । तर इन्फेक्सनका कारण दिल्लीसम्म लैजानुपर्यो । महिनौंको उपचारपछि पनि ड्याडी बच्न सक्नुभएन । त्यस क्षणले मलाई गहिरो प्रभाव पार्यो । डाक्टर भएर मात्रै होइन, न्युरो सर्जन बनेर अझ धेरै जीवन बचाउन सकिन्छ भन्ने दृढ संकल्प मेरो मनमा बस्यो ।

न्युरो सर्जरीमा आकर्षण कसरी बढ्यो ?
 

सानैदेखि डा. उपेन्द्र देवकोटाको नाम सुनेको थिएँ । टाउकोको शल्यक्रिया गरेर जीवन र परिवार नै परिवर्तन गर्न सकिन्छ भन्ने कुराले मलाई प्रेरित  गर्यो । एक बिरामीको जीवन बचाउन सक्नु आफैंमा ठूलो खुशी हो ।

विदेश जाने योजना छ ?
मेरो विदेश जाने योजना छैन । म राजधानी बाहिर गएर सेवा दिन चाहन्छु । आर्थिक दृष्टिले मेडिकल फिल्ड राम्रो नभए पनि बिरामीको उपचारपछि परिवारले पाएको खुशी देख्दा त्यो अनुभव अतुलनीय हुन्छ । जीवनमा खुशी नै ठूला कुरा हुन् ।

न्युरो सर्जरीमा अनुभव कस्तो छ ?
यहाँ अध्ययन गरेर प्रत्यक्ष बिरामीसँग काम गर्दाको अनुभव धेरै मूल्यवान् हुन्छ । प्रत्येक सफल शल्यक्रियाले मेरो आत्मविश्वास बढाउँछ र बिरामीको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ टक