नेभिगेशन
गाजामा स्वास्थ्य प्रणाली ध्वस्तः डब्लुएचओको चेतावनी— रोगको प्रकोप नियन्त्रण बाहिर

अस्पतालमा सन्नाटा, रोगको हाहाकार — गाजाको स्वास्थ्य प्रणाली मरणासन्न 

३६ मध्ये १३ अस्पताल मात्र सञ्चालनमा, अरबौँ डलर र दशकौं लाग्ने पुनर्निर्माणको अनुमान

नेपाल हेल्थ न्युज, कायरो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको स्वास्थ्य प्रणाली पूरै ध्वस्त भइसकेको र सङ्क्रामक रोगहरू तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिएको छ। निरन्तरको युद्ध, नाकाबन्दी र विनाशका कारण अहिले गाजाका ३६ अस्पतालमध्ये १३ मात्र आंशिक रूपमा सञ्चालनमा रहेका छन्।

डब्लुएचओका पूर्वी भूमध्यसागर क्षेत्रका निर्देशक डा. हनान बाल्खीका अनुसार, “गाजाको स्वास्थ्य प्रणाली अब संस्थागत संरचना होइन, अवशेष मात्र हो।” उहाँले युद्धको बीचमा चलिरहेका ती अस्पतालहरूमा औषधि, इन्धन र स्वास्थ्यकर्मीको अभाव अत्यन्त गम्भीर अवस्थामा पुगेको बताउनुभयो।

रोग फैलावट नियन्त्रणबाहिर

डा. बाल्खीले गाजामा मेनिन्जाइटिस, गुइलेन(बार्रे सिन्ड्रोम, श्वासप्रश्वाससम्बन्धी संक्रमण र पानीजन्य रोगहरू तीव्र रूपमा फैलिँदै गएको जानकारी दिनुभयो। “स्वास्थ्य प्रणाली नष्ट भएपछि रोग नियन्त्रणका सबै संयन्त्रहरू ध्वस्त भएका छन्,” उहाँले चेतावनी दिनुभयो।

डब्लुएचओको तथ्यांकअनुसार गाजा सहरमा अहिले आठवटा स्वास्थ्य केन्द्र मात्र आंशिक रूपमा चलिरहेका छन्। तीमध्ये पनि धेरैजसोमा स्वास्थ्यकर्मी र उपकरणको गम्भीर अभाव छ।

‘पुनर्निर्माणमा दशकौं लाग्नेछ’

डा.बाल्खीले गाजाको स्वास्थ्य प्रणाली पुनःस्थापनामा अरबौँ डलर र दशकौंको समय लाग्ने अनुमान गर्नुभएको छ। उहाँका अनुसार, “इन्धन, औषधि र खाना आपूर्तिमा रोक लागिरहेसम्म कुनै पनि पुनर्निर्माणको प्रयास सफल हुन सक्दैन।” हाल गाजामा आवागमनमा कडा प्रतिबन्ध भएकाले क्षतिको यथार्थ मूल्याङ्कन गर्न पनि कठिनाइ परेको उहाँको भनाइ छ।

स्वास्थ्य सुविधामाथि निरन्तर आक्रमण

संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार, सन् २०२३ अक्टोबर ७ देखि अहिलेसम्म गाजामा ८०० भन्दा बढी स्वास्थ्य सुविधामाथि आक्रमण भएका छन्। यसले अस्पताल, एम्बुलेन्स, औषधि गोदाम र आपतकालीन सेवाहरूलाई पूर्ण रूपमा अपाङ्ग बनाएको छ।

डब्लुएचओका अनुसार, धेरैजसो अस्पतालहरू अहिले इन्धन र औषधि बिना काम गर्न बाध्य छन्। घाइते र बिरामीहरू उपचार नपाएरै ज्यान गुमाइरहेका छन्।

बालबालिकाको स्वास्थ्यमा गम्भीर असर

डा. बाल्खीले विशेष गरी विगत दुई वर्षमा जन्मेका बच्चाहरूको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार, “यी बच्चाहरूले बाल्यकालका आवश्यक खोपसमेत गुमाएका छन्। कुपोषण, दूषित पानी र डरले ग्रस्त वातावरणमा उनीहरूको जीवन जोखिमपूर्ण बनेको छ।” डब्लुएचओको हालैको रिपोर्टले अक्टोबर २०२३ पछि युद्धमा घाइते भएका मध्ये एक चौथाइ बालबालिका रहेको खुलासा गरेको छ।

मानसिक स्वास्थ्य संकट पनि दोब्बर

गाजामा शारीरिक मात्र होइन, मानसिक स्वास्थ्य संकट पनि दोब्बर भएको डब्लुएचओले जनाएको छ। युद्ध, विस्थापन, र परिवार गुमाउने पीडाले बालबालिकादेखि वृद्धसम्म सबैमा आघात गहिरो बनेको छ। तर, मनोवैज्ञानिक उपचार र परामर्शका सेवा लगभग बन्दप्राय छन्।

अन्तर्राष्ट्रिय समुदायलाई अपिल

डा. बाल्खीले गाजामा घाइते र बिरामीहरूलाई वेस्ट ब्याङ्क वा छिमेकी मुलुकहरूमा उपचारका लागि तुरुन्तै मार्ग खोल्न आग्रह गर्नुभयो। उहाँले भनुभयो, “मानवीय सहायताको पहुँच सुनिश्चित नगरी रोग नियन्त्रण सम्भव छैन। इन्धन, खाना, औषधि र स्वास्थ्यकर्मीहरूको तत्काल पहुँच जरुरी छ।” गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सैन्य कारबाही सुरु भएदेखि हालसम्म कम्तीमा ६७ हजार ९६७ जनाको मृत्यु भइसकेको छ। हजारौं अझै घाइते र बेपत्ता छन्।

मानवता संकटको केन्द्रमा स्वास्थ्य

गाजाको अवस्था अहिले मानवता संकटको चरम रूपमा पुगेको डब्लुएचओले बताएको छ। संस्थाका विज्ञहरूका अनुसार, “स्वास्थ्य प्रणाली पुनःस्थापना नगरी कुनै पनि मानवीय सहायता दिगो बन्न सक्दैन।” डब्लुएचओ, संयुक्त राष्ट्रसंघ र मानवीय निकायहरूले गाजा क्षेत्रमा तत्काल मानवीय सहायता मार्ग (ह्युमानिटेरियन कोरिडोर) खोल्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष