नेपाल हेल्थ न्यूज काठमाडौं । काठमाडौँस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि भइरहेको श्रम शोषण, पारिश्रमिक असमानता र पेशागत बेवास्ता विरुद्ध संयुक्त रूपमा आवाज उठाएका छन्।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले शनिबार एक औपचारिक अपिल सार्वजनिक गर्दै दुई दिनसम्म दिउँसो १२ देखि २ बजेसम्म प्रतीकात्मक आन्दोलन गर्ने र माग सुनुवाइ नभएमा तेस्रो दिनदेखि आईसिय, आकस्मिक सेवा र डायलाईसिस बाहेकका सबै सेवा स्थगित गर्ने चेतावनी दिएका छन्।
संवादका ढोका खुला, तर बेवास्ताले बाध्य बनायो
अपिलमा भनिएको छ —
'हामीले विगतदेखि नै वार्ता र संवादको माध्यमबाट समस्या समाधानको प्रयास गर्दै आएका छौं तर हाम्रो आवाज निरन्तर बेवास्ता हुँदै आएकोले हामी आन्दोलनको बाटो लिन बाध्य भयौं।'
स्वास्थ्यकर्मीहरूका अनुसार, उनीहरूको आन्दोलन कसैविरुद्धको विरोध होइन, बरु न्याय, पेशागत सम्मान र समान अवसरका लागि शान्तिपूर्ण अभियान हो।
बिरामीप्रतिको जिम्मेवारी अटल
ग्राण्डीका लिड नर्स संगिता धमलाका अनुसार, नर्सहरू बिरामीको सेवा र जीवनरक्षा प्रति सदैव उत्तरदायी छन्।
उहाँले भन्नुभयो—
'हाम्रो पहिलो जिम्मेवारी बिरामीप्रति हो। तर जब हाम्रो श्रमको उचित मूल्य दिइँदैन, कार्यस्थल असुरक्षित हुन्छ र आवाज सुन्ने कोही हुँदैन, त्यसबेला बोल्नु हाम्रो बाध्यता हो — यो न्याय र अस्तित्वको माग हो।'
स्वास्थ्यकर्मीहरूले आन्दोलनका क्रममा पनि आईसिय, आकस्मिक सेवा र डायलाईसिस सेवा यथावत सञ्चालन गर्ने बताएका छन्।
नर्सहरूको अपिलः धम्की होइन, संवाद चाहियो
अपिलमार्फत आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरूले प्रशासन र व्यवस्थापन पक्षसँग डर, धम्की र दबाबका गतिविधि नगर्न आग्रह गरेका छन्।
उनीहरूले भनेका छन् —
'हामी संवादका लागि तयार छौं। कृपया समस्या समाधानका लागि तुरुन्त सहमतिको प्रक्रिया अघि बढाइयोस्।'
नागरिक समाज र बिरामी परिवारसँग हार्दिक अनुरोध
अपिलमा सबै बिरामी, कुरुवा, सरोकारवाला र नागरिक समाजलाई सम्बोधन गर्दै भनिएको छ —
'हाम्रो यो आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध होइन, बरु न्याय, पेशागत सम्मान र समान अवसरको मागमा केन्द्रित छ। कृपया हाम्रो आवाज बुझ्नुहोस्, हाम्रो पीडामा साथ दिनुहोस् र न्यायपूर्ण स्वास्थ्य प्रणाली निर्माणमा सहयोग गर्नुहोस्।'
'स्वास्थ्यकर्मीको सम्मान— स्वास्थ्य सेवा सशक्तीकरणको आधार
स्वास्थ्यकर्मीहरूले यस आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र जिम्मेवार रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
उनीहरू विश्वास गर्छन् —
'स्वास्थ्यकर्मी सुरक्षित भए मात्रै स्वास्थ्य सेवा प्रभावकारी हुन्छ।'
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

