डा. नम्रता खड्काको यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपालमा महिला चिकित्सकहरूको लागि पनि प्रेरणा हो । संवेदनशील र चुनौतीपूर्ण न्युरो सर्जरी क्षेत्रमा उहाँ अबको पुस्ताका लागि रोल मोडेल हो ।
नेपालमा न्युरोसर्जरी क्षेत्रलाई प्रख्यात बनाउन स्वर्गीय डा. उपेन्द्र देवकोटाको योगदान सबैलाई थाहा छ । अहिले नयाँ पुस्ताका डाक्टरहरूले त्यो बाटो पछ्याउँदै आफ्नो अलग्गै पहिचान बनाउन थालेका छन् । तीमध्ये एक हुनुहुन्छ—डा. नम्रता खड्का । उहाँ सरकारी सेवाकी पहिलो महिला न्युरो सर्जन हुनुहुन्छ । हामीले उहाँसँग पेशा, चुनौती र प्रेरणाबारे खुला कुराकानी गरेका छौँ ।
छोरी मान्छेलाई न्युरो शल्यक्रिया गर्न गाह्रो हुँदैन ?
कुनै पनि पेशाको लिङ्ग हुँदैन । म सर्जन हुँ, त्यसैले आफूलाई महिला वा पुरुष भनेर छुट्याउन रुचाउँदिन । सर्जरी भनेको सीप र लगन चाहिने काम हो । साधारणदेखि जटिलसम्मका धेरै शल्यक्रियामा म सहभागी हुँदै गर्दै आएको छु । चुनौती त हुन्छ । तर गाह्रो भनेर पछि हट्नुपर्ने सोच कहिल्यै आएन ।
तपाईं सरकारी सेवामा काम गर्ने पहिलो न्युरो सर्जन हुनुहुन्छ । यो यात्रा कसरी सुरु भयो ?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा न्युरो सर्जरीमा एचसिएच सुरु भएको २६ वर्ष भयो । म त्यहाँबाट न्युरो सर्जरीमा एचसिएच गर्ने पहिलो महिला डाक्टर हुँ । त्यससँगै सरकारी सेवामा काम गर्ने पहिलो महिला न्युरो सर्जन पनि बनेँ । यो केवल व्यक्तिगत मात्र होइन, महिलाहरूका लागि पनि एउटा उपलब्धि हो भन्ने लाग्छ ।
न्युरो सर्जरीजस्तो कठिन विषय रोज्नुको प्रेरणा कहाँबाट पाउनुभयो ?
म हुर्कँदा मेरो मामा प्रा. डा. प्रकाश विष्ट न्युरो सर्जन हुनुहुन्थ्यो । त्यस्तै स्व. डा. उपेन्द्र देवकोटाको छविले मलाई निकै प्रभावित पारेको थियो । मेरो घरमा डाक्टर भनेकै सर्जन र सर्जन भनेकै न्युरो सर्जन भन्ने बुझाइ थियो । सानो छँदा पनि मलाई सर्जरी खेल्न मन लाग्थ्यो । म चार वर्षको हुँदा पुतलीलाई बिरामी बनाएर पेट चिरेर ‘शल्यक्रिया’ गरेको थिएँ । त्यो बेला पुतली बिगारें । तर त्यस अनुभवले मलाई अझै यो क्षेत्रमा तान्यो ।
पुतली त बिगार्नुभयो । तर मानिसको शल्यक्रिया गर्दा गल्ती भयो भने त ज्यान नै जाने जोखिम हुन्छ नि ?
बिल्कुलै हो । न्युरो सर्जरी अत्यन्तै संवेदनशील क्षेत्र हो । सानो गल्तीले पनि ठूलो असर पार्छ । त्यसैले हामीले अभ्यासकै क्रममा शव (क्याडेभर) मा शल्यक्रिया गरेर सिकाइ सुरु गर्छौं । बच्चा बेला खेल्दा जस्तो हतार–हतार गर्न पाइँदैन ।
बिरामी शल्यक्रियापछि हिँड्दै, बोल्दै घर फर्किएको देख्दा मात्र सर्जनले आफ्नो सफलता महसुस गर्छ ।
तपाईं शल्यक्रिया गर्दा बिरामीलाई कसरी हेर्नुहुन्छ ?
म बिरामीलाई केवल ‘केस’ भनेर होइन, आफन्तझैं हेर्छु । जसरी आफ्ना आमा–बुवाको शल्यक्रिया गर्थेँ, त्यसरी नै अन्य बिरामीलाई पनि गर्छु । शल्यक्रियाको बेला भावनात्मक त होइन, तर मानवताको सम्बन्ध जोडिएको हुन्छ । मेरो चाहना एउटै हुन्छ—‘बिरामीले शल्यक्रियापछि पहिले जस्तै जीवनमा फर्कन सकून् ।’
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
