नेभिगेशन

ग्रान्डी अस्पतालका नर्सहरुलाई न्यायोचित पारिश्रमिक दिने निर्णय— आन्दोलन पक्ष र प्रशासनबीच सहमति

आन्दोलनरत नर्सहरू नियमित काममा फर्किए

नेपाल हेल्थ न्युज, काठमाडौं । राजधानीको धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूले विगत एक सातादेखि चलाउँदै आएको आन्दोलन अन्ततः सकारात्मक निष्कर्षमा पुगेको छ।

अस्पताल प्रशासनले नर्सहरूलाई सरकारी सरह पारिश्रमिक र सुविधा प्रदान गर्ने निर्णय गरेपछि आन्दोलनरत नर्सहरू आजदेखि नियमित काममा फर्किएका छन् । 

सम्झौता र सहमति

ग्रान्डीका नर्स तथा प्रशासनबीच भएको वार्तामा न्यायोचित तलब स्केल, अतिरिक्त घण्टाको भुक्तानी र पेशागत सम्मान सुनिश्चित गर्न सहमति भएको आन्दोलनकारी नर्सहरुले बताएका छन्।
अस्पताल प्रशासनका अनुसार, नर्सहरूको मागलाई उचित रूपमा सम्बोधन गरिएको छ, यसले संस्थाभित्रको कार्य वातावरण अझ सुदृढ हुनेछ।

आन्दोलनरत नर्सहरूले पनि यसलाई सकारात्मक कदम भन्दै आन्दोलन स्थगित गरेका छन्।


कात्तिक ९ गतेदेखि ग्रान्डीका नर्स तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका थिए। सुरुवातमा उनीहरूले प्रतीकात्मक धर्ना, मौन प्रदर्शन र विरोध कार्यक्रम सञ्चालन गरेका थिए।

उनीहरूको भनाइ थियो —'हामी बिरामीको ज्यानसँग खेल्ने होइनौं, तर हाम्रो श्रम र अस्तित्वलाई बेवास्ता गर्नेहरूलाई मौन रहन पनि सक्दैनौं।'

 

नर्सहरूको माग

आन्दोलनको क्रममा उनीहरूले अस्पताल प्रशासनलाई पेस गरेको मागपत्रमा न्यायोचित पारिश्रमिक र तलब स्केल कार्यान्वयन, कार्यस्थलमा समान व्यवहार र पेशागत सम्मान, रात्री सेवा र अतिरिक्त घण्टाको उचित भुक्तानी, नर्स सुरक्षा नीति र बीमा लागू, अस्पताल प्रशासनसँग खुला संवाद र पारदर्शितालगायतका १३ बुँदा रहेका थिए ।

नर्सहरूको स्वर

आन्दोलनको नेतृत्व गरिरहेकी लीड नर्स सङ्गिता धमलाले नेपाल हेल्थ न्युजसँग भन्नुभयो—

'हामी अस्पतालका मेरुदण्ड हौं। तर हाम्रो तलब स्केल, कार्यघण्टा र सुरक्षा कुनै मापदण्डमा न्यायोचित छैन।
बिरामीको सेवा हाम्रो जिम्मेवारी हो, तर अधिकारको लागि बोल्दा हामीलाई विद्रोही भनिन्छ।'

उहाँका अनुसार,

'हामीले आईसियू, आकस्मिक सेवा र डायालिसिस सेवा निरन्तर राख्ने निर्णय गरेका थियौं। हाम्रो आन्दोलन बिरामीविरुद्ध होइन, अन्यायविरुद्ध थियो।'


यो आन्दोलन केवल ग्रान्डी अस्पतालसम्म सीमित छैन। नेपालभरका निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले पनि असमान तलब, कार्यदबाब र सुरक्षा अभावविरुद्ध आवाज उठाइरहेका छन्।

स्वास्थ्य मन्त्रालयले पहिल्यै निर्देशन दिएको थियो —
निजी अस्पतालहरूले आफ्ना स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनुपर्ने। तर कार्यान्वयनमा ढिलाइ भइरहेकाले नर्सहरूको असन्तोष बढ्दै गएको हो।

ग्रान्डी अस्पतालका नर्सहरूको आन्दोलनले देखाएको छ —
'स्वास्थ्यकर्मी सुरक्षित भए मात्र स्वास्थ्य सेवा सुरक्षित हुन्छ।'
उनीहरूको यो संघर्षले नेपालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आवाज उठाउने हिम्मत दिएको छ।

यो घटनाले निजी अस्पतालहरूलाई पनि स्पष्ट सन्देश दिएको छ —
'पेशागत सम्मान र न्याय बिना सेवा सम्भव छैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष