नेपाल हेल्थ न्युज, काठमाडौं। नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समिति, नेपालले प्रधानमन्त्रीको निर्देशनमा गठन भएको कार्यदलको प्रतिवेदनप्रति असहमति जनाउँदै जारी आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि कार्यदलले पेश गरेको प्रतिवेदनले आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरूको मर्म, पीडा र पेशागत सम्मानलाई समुचित रूपमा समेट्न असफल भएको भन्दै प्रतिवेदन अस्वीकार गरिएको हो।
संघर्ष समितिकी संयोजक नर्स ज्योति रानाभाटले पनि उक्त प्रतिवेदनमा असहमति जनाउँदै हस्ताक्षर नगरेकी समितिले जनाएको छ। समितिको भनाइ छ-'यो आन्दोलन कुनै व्यक्तिगत स्वार्थ वा रहरको परिणाम होइन, वर्षौंको शोषण र बेवास्ताको प्रतिफलस्वरूप हाम्रो बाध्यताको स्वरूप हो।'
माग पूरा नहुँदासम्म आन्दोलन जारी रहनेछ
विज्ञप्तिमा भनिएको छ-'माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहनेछ। यो देशभरका नर्स तथा स्वास्थ्यकर्मीहरूको अस्तित्व, सम्मान र न्यायको आन्दोलन हो।' समितिले स्वास्थ्यकर्मी, नर्स तथा नागरिक समाजका प्रतिनिधिहरूले दिएको साथ र ऐक्यबद्धताप्रति धन्यवाद पनि जनाएको छ।
संघर्ष समितिको स्पष्ट धारणा अनुसार, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८१ मङ्सिर २७ र २०८२ असोज २४ मा पठाएको पत्रमा उल्लेख गरिएका सबै बुँदाहरूको पूर्ण कार्यान्वयन नै आन्दोलनको तल्लो सीमा (बटम लाइन) हो। समितिले भनेको छ-'त्यो पत्रबाहेक कुनै पनि अन्य सम्झौतामा हामी सहमत हुने छैनौं।'
भोकै पेट काम गर्न सक्दैनौं
विज्ञप्तिमा नर्स र स्वास्थ्यकर्मीहरूको मनोदशा स्पष्ट रूपमा व्यक्त गरिएको छ —
'हामी फेरि पनि दोहोर्याउँछौं — भोको पेट हामी काम गर्न अब सक्दैनौं।'
समितिले भनेको छ कि आन्दोलनको उद्देश्य सेवा बन्द गर्नु होइन, बरु सेवामा न्याय र सम्मान पुनःस्थापित गर्नु हो।
'हामी छिट्टै सेवामा फर्किन चाहन्छौं, तर त्यसका लागि हाम्रो श्रमको सम्मान, समान कामको समान ज्याला, र समान सेवाको समान शुल्कको सुनिश्चित कार्यान्वयन जरुरी छ'- विज्ञप्तिमा भनिएको छ।
रोगी र अभिभावकप्रति क्षमायाचना
आन्दोलनका कारण बिरामी र अभिभावकहरूलाई पर्न गएको असुविधाप्रति समितिले क्षमायाचना पनि गरेको छ।
'हाम्रो उद्देश्य बिरामीलाई दुःख दिनु होइन, स्वास्थ्य सेवामा न्याय र गरिमाको पुनःस्थापना गर्नु हो'- समितिको भनाइ छ।
सम्झौता होइन — समाधान चाहिन्छ
विज्ञप्तिको अन्त्यमा समितिले आफ्नो आन्दोलन अझ शान्त, संगठित र दृढ स्वरूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै दुई नारा अघि सारेको छ—
'सम्झौता होइन — समाधान चाहिन्छ'
'समान कामको समान ज्याला, समान सेवाको समान मूल्य।'
ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन हेर्नुहोस् :
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

