नेभिगेशन

स्वास्थ्यकर्मीहरूको पारिश्रमिक समस्या समाधानको मागसहित विभिन्न संघसंस्थाहरूको ऐक्यबद्धता

नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरका स्वास्थ्य संस्थाहरू—निजी तथा सामुदायिक अस्पताल, शिक्षण संस्था, औषधि उद्योग लगायतका क्षेत्रमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरू पारिश्रमिकका मागसहित लामो समयदेखि आन्दोलनरत छन्। एक महिनादेखि जारी उक्त आन्दोलनमा विभिन्न स्वास्थ्यकर्मीका पेशागत संघ–संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  नर्स संघर्ष समति, नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन, नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, नेपाल रेडियोलोजिकल सोसाइटी, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल सिएमए संघ र नेपाल इस्स्टि विशेषज्ञ संघ का अध्यक्षहरूले स्वास्थ्यकर्मीहरूका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन्।

विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि सामना गर्दै आएको श्रम शोषण र पारिश्रमिक सम्बन्धी गम्भीर समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ। साथै, नेपाल सरकारको मिति २०८२/०६/२४ को पत्र नं. १८ अनुसारका प्रावधानहरू—

  • स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबर तलब दिनुपर्ने,
  • अतिरिक्त समयमा काम गरेबापत भत्ता प्रदान गर्नुपर्ने,
  • ज्यालादारीमा काम गराउन नहुने,
  • बैंकिङ प्रणालीबाट तलब भत्ता भुक्तानी हुनुपर्ने,
  • सक्कली प्रमाणपत्रहरू जबर्जस्ती राख्न नपाइने, 
  • अनुभव पत्र अनिवार्य रूपमा दिनुपर्ने

जस्ता मागहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सरकारसँग आग्रह गरिएको छ।

संघ–संस्थाहरूले आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको भन्दै त्यसप्रति सचेत रहन सबै स्वास्थ्यकर्मीलाई अपिल गरेका छन्। साथै, आन्दोलनलाई शान्तिपूर्ण र रचनात्मक ढंगले अघि बढाउन सम्पूर्ण सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'हाम्रो जायज मागहरूलाई बेवास्ता गरिएमा उत्पन्न हुने परिस्थिति र त्यसका परिणामको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ।'

nurse-press-release--1762343759.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट