नेभिगेशन
सुधारका लागि सोच, नेतृत्वका लागि अनुभव

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. मंगल रावलको उम्मेदवारी घोषणा

संघको नेतृत्व चुनावमा नयाँ प्रतिस्पर्धा र बहस सुरु हुने अनुमान

नेपाल हेल्थ न्युज, काठमाडौं। आगामी माघमा हुन लागेको नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व निर्वाचनलाई लक्षित गर्दै  कर्णाली क्षेत्रका चर्चित अर्थोपेडिक विशेषज्ञ डा. मंगल रावलले अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेर अनुभव बटुलेका डा. रावलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै  भिडियो सन्देश पनि सार्वजनिक गर्नुभएको छ ।

'साझा संकल्प र सामूहिक नेतृत्वले मात्र संघ परिवर्तन सम्भव छ' — डा. रावल

उम्मेदवारी घोषणा गर्दै डा. रावलले चिकित्सा पेशामा हाँसिल गरेका व्यवस्थापकीय अनुभव, संगठनात्मक क्षमता र नेतृत्व गुणका आधारमा संघमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित आफू अघि बढेको बताउनुभयो।उहाँले विभिन्न पृष्ठभूमि, भूगोल र विचारधाराबाट आएका चिकित्सकहरूबीच एकता र सामूहिकताको आवश्यकता औँल्याउँदै भन्नुभयो—'जुनसुकै विचारधारा वा स्थानबाट आएका भए पनि विगतमा योगदान पुर्‍याएका र भविष्यमा अझ ठूलो भूमिका खेल्नसक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह गर्दछु।'

उहाँका अनुसार संरचनागत तथा नीतिगत सुधार एक व्यक्तिको प्रयासले सम्भव नहुने, सबै मिलेर अघि बढ्नुपर्ने साझा यात्रा हो।

सदस्यता नलिएका चिकित्सकलाई मंसिर १३ भित्र दर्ता गर्न आह्वान

आगामी निर्वाचनको तयारीक्रमलाई तीव्र बनाउँदै डा. रावलले अझै एनएमए सदस्यता नलिएका चिकित्सकहरूलाई आगामी मंसिर १३ भित्र अनिवार्य रूपमा सदस्यता लिने अनुरोध गर्नुभएको छ।


उहाँका अनुसार समयमै दर्ता नगरे निर्वाचन प्रक्रियामा सहभागी हुन कठिनाइ पर्न सक्छ।

डा. रावलको उम्मेदवारी सार्वजनिक भएसँगै आगामी माघमा हुने नेपाल चिकित्सक संघको नेतृत्व चुनावमा नयाँ प्रतिस्पर्धा र बहस सुरु हुने अनुमान गरिएको छ। संघको नीतिगत सुधार, सेवा अभिमुखता, चिकित्सकको अधिकार अभिवृद्धि र स्वास्थ्य प्रणालीको सुधारजस्ता मुद्दामा अब अधिक चासो बढ्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष