नेपाल हेल्थ न्युज, काठमाडौं । स्थानीय तह-स्तरमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले २०७७ मंसिर १५ गते एकैपटक सुरु गरिएको ३९६ आधारभूत अस्पताल निर्माणमध्ये पाँच वर्षपछि आएर मात्र ७८ वटा अस्पताल सञ्चालनमा आएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सम्पन्न ती अस्पताल सहित देशभर ५, १० देखि १५ बेड क्षमताका आधारभूत अस्पतालको संख्या ४१३ पुगेको छ। मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले प्रदेशगत विवरणसमेत सार्वजनिक गरेका छन्।
बागमती प्रदेशमा १३६ आधारभूत अस्पतालसहित सबैभन्दा धेरै यी खालका स्वास्थ्य संस्था रहेका छन्। त्यस्तै, कोशीमा ११२, लुम्बिनीमा ४२, सुदूरपश्चिममा ३३, कर्णालीमा २८, मधेशमा ४१ र गण्डकी प्रदेशमा २१ आधारभूत अस्पताल सञ्चालनमा छन्।
स्थानीय तहमा आधारभूत स्वास्थ्य पूर्वाधार मजबुत बनाउने लक्ष्यसहित निर्माण सुरु गरिएकामा धेरैजसो अस्पताल समयमै सम्पन्न हुन नसकेको मन्त्रालयको ताजा प्रगति विवरणले देखाउँछ। आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार, आधारभूत अस्पताल निर्माण सुस्त रहे पनि अन्य श्रेणीका अस्पताल भने उल्लेखनीय रूपमा बढेका छन्।
२५ देखि ५० बेड क्षमताका सामान्य अस्पताल ३०५ पुगेका छन्। यसमा बागमती प्रदेश ७२ अस्पतालसहित अग्रस्थानमा छ। गण्डकीमा ५६, मधेशमा ५३, लुम्बिनीमा ४९, कोशीमा ४३, कर्णालीमा १४ र सुदूरपश्चिममा १८ सामान्य अस्पताल रहेका छन्।
मन्त्रालयको विश्लेषण अनुसार, दुर्गम प्रदेशहरूमा अझै पनि पर्याप्त स्वास्थ्य पूर्वाधार उपलब्ध हुन सकेको छैन। १००–३०० बेडका विशिष्टीकृत अस्पताल ७२ मात्र विशेष सेवा प्रदान गर्ने १०० देखि ३०० बेड क्षमताका अस्पताल देशभर ७२ पुगेका छन्। यस्ता अस्पताल पनि बागमती प्रदेशमै बढी छन्, कुल २५ वटा। मधेशमा १५, लुम्बिनीमा १२, गण्डकीमा ९, कोशीमा ७, कर्णालीमा ३ र सुदूरपश्चिममा १ मात्र रहेका छन्।
संघीय संरचना लागू भइसके पनि विशिष्टीकृत स्वास्थ्य सेवा अझै पनि काठमाडौं केन्द्रित नै रहेको तथ्य मन्त्रालयको रिपोर्टले देखाएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
