नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा बन्ने १२ तले आधुनिक भवनको निर्माण तीव्र गतिमा अघि बढ्दै गएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलका अनुसार हाल परियोजनाको भौतिक प्रगति करिब ३२ प्रतिशत र वित्तीय प्रगति २७ प्रतिशत पुगेको छ। प्रदेश सरकारको ‘गौरवको आयोजना’ मानिएको यो भवनले अस्पतालको क्षमता र सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
रुपन्देहीसहित पाल्पा, गुल्मी, दाङ, स्याङ्जा, प्युठान, अर्घाखाँची, रोल्पा, नवलपरासी र कपिलवस्तुका बिरामीका लागि ११५ वर्षदेखि सेवा प्रदान गर्दै आएको अस्पतालमा चाप बढ्दै गएपछि यसको स्तरवृद्धि परियोजना सुरु गरिएको हो। करिब ७ हजार ७०० वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको मुख्य भवनमा ७ सय शय्या रहनेछ भने छुट्टै चारतले क्यान्सर भवनमा १०० शय्या रहने व्यवस्था हुनेछ।
आठ अर्ब ९९ करोड ७५ लाख रूपैयाँ अनुमानित लागत रहेको परियोजनाको ठेक्का भारतीय कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले संयुक्त रूपमा करिब छ अर्ब १८ करोडमा लिएका छन्।
२०८० पुस २६ मा ठेक्का सम्झौता भइसके पनि शिलान्यास २०८१ भदौ १५ मा गरिएको थियो। हाल साइटमा ३०० भन्दा बढी जनशक्ति परिचालनमा छन्। तर प्रदेश सरकारले विनियोजन गरेको बजेट अपुग भएपछि निर्माण कम्पनीले उधारोमै काम अघि बढाइरहेको प्राधिकरणले जनाएको छ।
चालु वर्षका लागि छुट्याइएको एक अर्ब रूपैयाँमध्ये ८५ करोड अघिल्लो भुक्तानीमै खर्चिएकाले नयाँ कामका लागि बजेट अभाव भएको प्राधिकरणको भनाइ छ। कात्तिकसम्मका कामबापत २४ करोड भुक्तानी अझै बाँकी छ। थप ८० करोड माग गरिएको र सरकारले सहयोग गर्ने संकेत दिएको पोखरेलले बताउनुभयो। उहाँका अनुसार समयमै आवश्यक रकम उपलब्ध भए भवन २०८५ पुस २५ भन्दा अगावै सम्पन्न हुन सक्छ।
साइट इन्जिनियर शंकर सुवेदीका अनुसार ठेक्का रकमको १८ प्रतिशत मात्र पेस्की लिइएको छ। हालको गति निरन्तर रहे आगामी असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्य राखिएको छ।
भवनको डिजाइन र गुणस्तर सुपरीवेक्षण काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौँ युनिकन्सर्न कन्सल्टेन्सी ले गरिरहेको छ। परियोजनामा संलग्न १६ प्राविधिकले निर्माण सामग्रीदेखि कामको गुणस्तरसम्म नियमित अनुगमन गरिरहेका छन्। आर्थिक चुनौतीका बीच पनि काम तिव्र गतिमा अघि बढ्न थालेपछि प्रदेशको स्वास्थ्य पूर्वाधार छिट्टै नयाँ स्तरमा पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

