नेभिगेशन
एम्बुलेन्स चालक नै स्वास्थ्यको फ्रन्टलाइन हिरो

 ३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम

पहिलो सम्पर्क बिन्दुलाई अझ सबल बनाउँदै फ्रन्टलाइन अस्पताल

नेपाल हेल्थ न्युज, काठमाडौँ। पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले नेपालभरिका ३२ जना एम्बुलेन्स चालकलाई लक्षित गर्दै जीवन–रक्षक बेसिक लाइफ सपोर्ट (बिएलएस) तालिम सम्पन्न गरेको छ।

देशका विभिन्न जिल्लाबाट आएका चालकहरूलाई आपत्कालीन अवस्थाको प्राथमिक हस्तक्षेपका सीप सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आकस्मिक अवस्थामा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने एम्बुलेन्स चालकहरूको भूमिकालाई ध्यानमा राख्दै उनीहरूको सीप, ज्ञान र निर्णय क्षमताको उन्नयन यो तालिमको मुख्य लक्ष्य थियो। समयमै गरिने सही र प्रभावकारी हस्तक्षेपले गम्भीर अवस्थामा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने अस्पतालको तर्क छ।

तालिम सत्रको संयोजन फ्रन्टलाइन अस्पतालका मेडिकल एडमिनिस्ट्रेटर तथा इमर्जेन्सी फिजिसियन डा. रोहन झाले गर्नुभयो। उहाँले सहभागीहरुलाई आरएच, बिरामीको प्राथमिक मूल्यांकन, आपतकालीन संवाद प्रक्रिया, श्वासप्रश्वास जाँच लगायतका जीवन–रक्षक सीपहरूमा विस्तृत तथा व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो। सहभागीहरूले वास्तविक जस्तै अवस्थाको मोडलमा अभ्यास गर्दै आपतकालीन स्थितिमा आत्मविश्वासपूर्वक हस्तक्षेप गर्न सक्ने क्षमता विकास गरेको बताइएको छ।

अस्पतालका अनुसार प्राविधिक सीप मात्र होइन, एम्बुलेन्स चालकहरूको मनोबल, तयारी तथा निर्णय क्षमतालाई मजबुत बनाउनु तालिमको महत्त्वपूर्ण पक्ष थियो। बिरामीको पहिलो सम्पर्क बिन्दु एम्बुलेन्स चालक नै हुने भएकाले उनीहरूको दक्षता वृद्धि देशभरको आपतकालीन स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्नेछ ।

कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र वितरणलाई केवल सम्मानको रूपमा मात्र नभई नेपालमा आपतकालीन स्वास्थ्य सेवा मापदण्ड सुधारतर्फको महत्वपूर्ण कदमको रूपमा मूल्यांकन गरिएको छ।

डा. झाका अनुसार फ्रन्टलाइन अस्पतालले आगामी दिनमा पनि यस्ता क्षमताअभिवृद्धि तथा आकस्मिक सेवा सुधार केन्द्रित तालिमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ। गुणस्तरीय र सबैका लागि सहज रूपमा पहुँच हुने स्वास्थ्य सेवा प्रवर्द्धन तथा राष्ट्रिय आपतकालीन स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने उद्देश्यले अस्पतालले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तालिममा सहभागी एम्बुलेन्स चालकहरूले फ्रन्टलाइन अस्पतालप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि आकस्मिक स्वास्थ्य सेवा उकास्न सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष