नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सका माग सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले आइतबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। यसअघि केही सदस्यले आफ्ना माग समेटिन नसकेको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। तर असन्तुष्ट सदस्यसँग सहमति जुटेपछि सबै सदस्यले हस्ताक्षरका लागि तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाटले पनि प्रतिवेदनमा हस्ताक्षर गर्न सहमति जनाउनुभएको छ। रानाभाटका अनुसार सरकारले तोके अनुसार न्यूनतम तलब दिने विषय प्रतिवेदनमा समावेश हुने सहमति भएपछि उहाँ हस्ताक्षर गर्न तयार हुनुभएको हो।
‘हाम्रो मागहरू पनि प्रतिवेदनमा राख्ने सहमति भएको छ। हामी आइतबार प्रतिवेदन बुझाउने तयारीमा छौं,’ उहाँले भन्नुभयो। सरकारले तोके सरह न्यूनतम पारिश्रमिक निजी मेडिकल कलेज तथा अस्पतालहरुले दिएमा आफूहरु कहिले पनि आन्दोलनको पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, कार्यदलका सबै सदस्यले प्रतिवेदनमा हस्ताक्षर गर्ने मौखिक सहमति दिएका छन्। केही सदस्य बाहिर रहेका कारण हस्ताक्षरको प्रक्रिया पूरा भएपछि प्रतिवेदन पेश गरिनेछ।
कार्यदलका लागि तोकिएको समय मंसिर १५ गते सकिएको भए पनि सबै सदस्यको हस्ताक्षर नहुँदा प्रतिवेदन बुझाउन ढिलाइ भएको थियो। नेपाल नर्सिङ संघकी महासचिव डा. देवकाकुमारी आचार्यले भन्नुभयो, ‘प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई पेश भएसँगै क्याबिनेटमा पनि छलफल हुनेछ र नर्सका समस्या समाधान हुने आशा छ। आर्थिक नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पेश हुने र विस्तारै लागू हुनेछ। न्यूनतम पारिश्रमिक भने तुरुन्तै लागू हुनु आवश्यक छ।’
सरकारले निर्देशन गरेअनुसार चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा कार्यरत नर्सहरूले गत असोज ८ गते आन्दोलनको सुरुवात गरेका थिए। स्वास्थ्य सेवा प्रभाबित हुन पुग्दा, आन्दोलनरत नर्सका प्रतिनिधिसहित २१ सदस्यीय कार्यदल गठन गरिएको थियो।
यो पनि हेर्नुहोस
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२
