नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदमा बढुवाको प्रक्रिया सुरु गरेको छ। मन्त्रालय अन्तर्गतको बढुवा समिति सचिवालयले सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाका योग्य कर्मचारीहरूबाट आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार कार्यसम्पादन क्षमताका आधारमा बढुवा सिफारिस गरिनेछ। गत असार मसान्तसम्म ११औँ तहमा कम्तीमा पाँच वर्ष सेवा अवधि पूरा गरेका अधिकृतहरू यस प्रक्रियामा सहभागी हुन पाउनेछन्। इच्छुक उम्मेदवारले मन्त्रालयको वेबसाइटबाट व्यक्तिगत विवरण फाराम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराएर तोकिएको समयभित्र कर्मचारी प्रशासन शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले कार्यकाल बाँकी छँदै गत १९ कात्तिकमा स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै राजीनामा दिएपछि उक्त पद खाली भएको थियो। सोही रिक्त पद पूर्ति गर्न बढुवाको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यसैबीच, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्राले दिएको राजीनामा स्वीकृत भएको विषयमा मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएको जनाएको छ। उहाँको राजीनामा स्वीकृत गर्ने अधिकार मन्त्रिपरिषद्को भए पनि तीन महिना बितिसक्दा पनि यसबारे मन्त्रालयलाई औपचारिक सूचना प्राप्त नभएको बताइएको छ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा डा. मिश्राको नाम उच्च पदका लागि सिफारिस भएको थियो। सचिव पदको आकांक्षीसमेत रहनुभएको उहाँलाई सरकारले सचिव नियुक्त नगरेपछि उहाँ लामो समय बिदामा बस्नुभएको थियो। पछि नयाँ सरकार गठन भएपछि उहाँ पुनः मन्त्रालयमा सक्रिय हुन थाल्नुभएको थियो।
स्वास्थ्य मन्त्रीको रूपमा उहाँको नाम चर्चामा आउन थालेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी सरकार निकट पक्षलाई गराएपछि उहाँको नाम रोकिएको बताइन्छ। त्यसपछि स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित मुद्दामा उहाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
अख्तियारले थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरणमा १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। हाल डा. मिश्रालाई निलम्बन गरिएको छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव दिवस आचार्यका अनुसार डा. मिश्राको राजीनामा स्वीकृत भएको भन्ने औपचारिक जानकारी मन्त्रालयलाई प्राप्त भएको छैन। निलम्बन भएको सूचना आएपछि भने मन्त्रालयले उहाँलाई पत्राचार गरेको उहाँले बताउनुभयो।
स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव पद चारवटा रहने व्यवस्था छ। हाल डा. श्रीकृष्ण श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल उक्त पदमा कार्यरत हुनुहुन्छ। मन्त्रालयले हाल रिक्त रहेको एक पदका लागि मात्रै बढुवाको प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ।
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२
डिस्चार्जपछि सुत्केरी महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०८२
नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा रामजी घिमिरे पुनः चयन
सोमबार, मंसिर २९, २०८२
