नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधार र समाजमा जनचेतना विस्तार गर्न महिला शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित देशकै पहिलो छात्रा विद्यालय कन्या मन्दिर माध्यमिक विद्यालयको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले महिलालाई शिक्षाबाट वञ्चित गरिँदा त्यसको असर परिवारदेखि समग्र राष्ट्रमै पर्ने उल्लेख गर्नुभयो ।
महिला जनसङ्ख्या कुल जनसङ्ख्याको आधाभन्दा बढी रहेको स्मरण गराउँदै उहाँले राणाकालमा स्थापना भएको कन्या मन्दिर माविले महिला सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । विसं २००३ मा स्थापना भएको यस विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा दिँदै आएको र यहाँबाट अध्ययन गरेका विद्यार्थीहरू चिकित्सक, इञ्जिनियर, राष्ट्रसेवक, प्राध्यापक, उद्यमी तथा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वका रूपमा स्थापित भएको बताउनुभयो । आफू पनि यही विद्यालयकी पूर्वविद्यार्थी भएकाले विद्यालयप्रति गर्व लाग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने उत्कृष्ट छात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शिक्षक तथा कर्मचारीको मनोबल बढाउँदै आवश्यक स्रोतसाधनको व्यवस्था गरेर शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय सफल भएको बताउनुभयो ।
प्रधानाध्यापक घनश्याम न्यौपानेले एक समय विद्यालयको शैक्षिक स्तरप्रति चिन्ता व्यक्त भइरहेका बेला व्यवस्थापन समिति, शिक्षक, कर्मचारी र अभिभावकको सामूहिक प्रयासबाट विद्यालयलाई पुनः उत्कृष्ट बनाइएको जानकारी दिनुभयो।
क्षेत्रपाटीस्थित उक्त विद्यालयमा हाल करिब १ हजार २०० छात्रा अध्ययनरत छन् । हालै सम्पन्न एसइई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएको र एक छात्राले चार जिपिए प्राप्त गरेको पनि विद्यालयले जनाएको छ ।
विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी र विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
