नेपाल हेल्थ न्युज, ललितपुर । पाटन उच्च अदालतले नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतको उक्त आदेशसँगै संघले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ।
आइतबार न्यायाधीशद्वय ऋषिपराम निरौला र दीपक खनाल को संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। अजय कुमार मिश्र समेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा सुनुवाइ गर्दै अदालतले संघद्वारा प्रकाशित निर्वाचन कार्यक्रम यथास्थितिमा राख्न निर्देशन दिएको छ।
अदालतका अनुसार नेपाल चिकित्सक संघले गत असोज २० गते जारी गरेको सूचनामार्फत सार्वजनिक गरेको निर्वाचन कार्यक्रम, निर्वाचन नियमावली २०७० को परिच्छेद ४ को नियम ६ मा उल्लेखित प्रक्रिया पूरा नगरी ल्याइएको देखिएको छ।
अन्तरिम आदेशमा भनिएको छ, “उक्त प्रक्रिया नअपनाई निर्वाचन कार्यक्रम ल्याउँदा निवेदकहरूलाई उम्मेदवारी दिने तथा निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक लाग्ने अवस्था सिर्जना भएको देखिन्छ।”
यसै आधारमा अदालतले वर्तमान अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नदेखिएको भन्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो।
अदालतले विपक्षी नेपाल चिकित्सक संघलाई यस विषयमा कानुनबमोजिम सूचना दिई आगामी पेशीमा उपस्थित हुनसमेत निर्देशन दिएको छ।
निर्वाचन कार्यक्रम स्थगित
अदालतको यस आदेशसँगै नेपाल चिकित्सक संघले तय गरेको निर्वाचन कार्यक्रम रोकिएको छ। यसअघि संघले काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो।
अदालतको आदेशपछि अब आगामी निर्णय नआएसम्म नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडि नबढ्ने भएको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
