नेभिगेशन

सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द

नेपाल हेल्थ न्युज, धनगढी । डायलासिस सेवा लिने बिरामीको संख्या अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ नियमित बिरामीलाई हाल सेवा दिन नसक्ने जनाएको छ। अस्पतालले आपत्कालीन अवस्थाका बिरामीलाई भने निरन्तर सेवा दिइरहेको छ।

अस्पताल प्रशासनले मंगलबार सूचना जारी गर्दै इमर्जेन्सी बाहेक नयाँ बिरामीलाई डायलासिस सेवा अस्थायी रूपमा रोकिएको जानकारी दिएको हो। आवश्यक उपकरण, जनशक्ति र भौतिक संरचनाको अभावका कारण यस्तो निर्णय लिनुपरेको अस्पतालको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना बिरामीलाई नियमित सेवा दिइँदै आएको छ। उहाँले भन्नुभयो, ‘इमर्जेन्सी सेवामा कुनै कटौती गरिएको छैन, तर नयाँ बिरामी थप्ने अवस्था छैन। स्थान, उपकरण र दक्ष जनशक्ति सबैको अभाव छ।’

एक जना बिरामीले हप्तामा कम्तीमा दुई पटक डायलासिस गराउनुपर्ने हुँदा सेवा सञ्चालन समय लम्बिँदै गएको अस्पतालले जनाएको छ। कतिपय दिन राति १० बजेसम्म पनि सेवा दिनुपरेको र बिरामीको चाप दिनानुदिन बढ्दै जाँदा बाध्य भएर नयाँ भर्ना रोक्नुपरेको डा. पाण्डेले बताउनुभयो।

यस विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयलाई पटक–पटक जानकारी गराइए पनि ठोस पहल नभएपछि यस्तो कदम चाल्नुपरेको उहाँको भनाइ छ।

सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा प्रदेशका नौ वटै जिल्लाबाट मिर्गौला रोगी उपचारका लागि आउने गर्छन्।

डायलासिस इकाइका इन्चार्ज शेरबहादुर महतराले दैनिक कम्तीमा चार जना बिरामी सेवा नपाई फर्किन बाध्य भएको बताउनुभयो। उहाँका अनुसार हाल १४ जना स्वास्थ्यकर्मीले बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा दिइरहेका छन्। ‘एक जना बिरामीको डायलासिसपछि मेसिनलाई कम्तीमा ३० मिनेट सरसफाइ र विश्राम दिनुपर्छ, त्यसैले नयाँ बिरामी थप्न सम्भव छैन,’ उहाँले भन्नुभयो।

महतराका अनुसार कम्तीमा ५० वटा डायलासिस मेसिन र सोही अनुपातमा जनशक्ति भए मात्र सेवा विस्तार सम्भव हुनेछ। नयाँ बिरामीको उपचार रोकिँदा टाढा–टाढाबाट आएका मिर्गौला रोगीहरू समस्या झेल्न बाध्य भएका छन्। धनगढी–५ तारानगरकी अमृता विष्टले अस्पतालले डायलासिसका लागि फाइलसमेत नलिएको गुनासो गर्नुभयो। ‘हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने रहेछ, अब कहाँ गएर उपचार गर्ने भन्ने चिन्ताले सताएको छ,’ उहाँले भन्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट