नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा औषधि पसल केवल औषधि किनबेच गर्ने ठाउँ मात्र होइन । धेरै नागरिकका लागि फार्मेसी नै पहिलो स्वास्थ्य सम्पर्क बिन्दु हो । चिकित्सकसम्म पुग्न नसक्ने, समय र आर्थिक सीमाभित्र उपचार खोज्ने हजारौँ नागरिक औषधि व्यवसायीमै निर्भर हुन्छन् ।
यही यथार्थलाई मध्यनजर गर्दै औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले पुस २६ र २७ गते ३० जना औषधि व्यवसायीलाई पहिलो चरणमा ‘कुशल फार्मेसी अभ्यास (जिपिपि) तालिम प्रदान गरेको छ ।
औषधि व्यवस्था विभागको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिएको यो तालिम केवल सीप अभिवृद्धि कार्यक्रम मात्र नभई औषधि व्यवसायलाई मर्यादित, सुरक्षित र विश्वसनीय बनाउने दिशातर्फको महत्वपूर्ण कदम हो ।
प्रतिष्ठा बढाउने अभ्यास, सुरक्षित सेवातर्फको यात्रा
औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठ का अनुसार ‘कुशल फार्मेसी अभ्यास, प्रतिष्ठा बढाउने प्रयास’ भन्ने मर्मसहित संघले तालिम आयोजना गरेको हो । उहाँका अनुसार औषधि व्यवसायलाई त्रुटिरहित, व्यवस्थित र बिरामीमैत्री बनाउन यस्ता तालिम अत्यन्त आवश्यक छन् ।
तालिममा सहभागी व्यवसायीलाई प्राविधिक सहयोग, फार्मेसी व्यवस्थापन, औषधिको सुरक्षित भण्डारण, बिरामी परामर्श, कानुनी दायित्व र पेशागत आचारसंहिता सम्बन्धी ज्ञान दिइएको छ । तर यो तालिमको महत्व केवल काठमाडौंका ३० फार्मेसीसम्म सीमित छैन—यो बहसले नेपालभरका करिब २३,००० फार्मेसीको अवस्था र भविष्यलाई छोएको छ ।
डब्लुएचओको दृष्टिकोणः गुड फार्मेसी प्राक्टिस के हो ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय फार्मास्युटिकल फेडेरेसन (एफआईपि) ले संयुक्त रूपमा कुशल फार्मेसी प्राक्टिसलाई पछिल्लो समय क्वालिटी फार्मेसी प्राक्टिसको अवधारणा अघि सारेका छन् ।
कुशल फार्मेसी अभ्यासका मुख्य नैतिक आधार
डब्लुएचओले फार्मेसीलाई केवल व्यापारिक इकाइ मात्र नभई स्वास्थ्य सेवा प्रदायकको महत्वपूर्ण हिस्सा मानेको छ ।
बिरामीलाई सही औषधि, सही मात्रा, सही समय र सही तरिकाले प्रयोग गर्न सहयोग गर्ने, औषधिको सुरक्षित र प्रभावकारी प्रयोग, गलत औषधि, गलत मात्रा वा अनावश्यक एन्टिबायोटिक प्रयोग रोक्नु, सार्वजनिक स्वास्थ्यमा योगदान, खोप, स्वास्थ्य सचेतना, जीवनशैली परामर्श, र रोग निवारणमा सक्रिय भूमिका, पेशागत इमानदारी र नैतिकता, नाफाभन्दा पहिले बिरामीको हित, कानुनको पालना र पेशागत मर्यादा गुड फार्मेसी प्राक्टिसका मुख्य स्तम्भ हुन् ।
नेपालको यथार्थः २३ हजार फार्मेसी, तर अभ्यास कति ‘कुशल’ ?
नेपालमा औषधि व्यवस्था विभागको तथ्यांक अनुसार करिब २३,००० भन्दा बढी फार्मेसी दर्ता छन् । तीमध्ये धेरैजसो फार्मेसीमा प्रशिक्षित फार्मासिस्ट वा फार्मेसी सहायक पूर्ण समय उपस्थित छैनन् । बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक सजिलै बिक्री हुने अवस्था छ । औषधिको भण्डारण मापदण्ड (तापक्रम, आद्र्रता) पालना नहुनु, एक्सपायरी औषधि व्यवस्थापनमा कमजोरी, बिरामीलाई पर्याप्त औषधि परामर्श नदिनु जस्ता समस्याले औषधि व्यवसायलाई मात्र नभई सार्वजनिक स्वास्थ्यलाई नै जोखिममा पारिरहेको छ ।
एन्टिबायोटिक रेसिस्टेन्सः फार्मेसी अभ्यासको गम्भीर परीक्षा
नेपालमा बढ्दो एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) को एक प्रमुख कारण अनियन्त्रित औषधि बिक्री हो । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटको रूपमा व्याख्या गरिसकेको छ ।
नेपालमा ज्वरो, रुघाखोकीमै एन्टिबायोटिक पूरा मात्रा नखाने प्रवृत्ति, फार्मेसीबाट चिकित्सकजस्तै सिफारिस कुशल फार्मेसी अभ्यासको अभावका प्रत्यक्ष परिणाम हुन् ।
औषधि व्यवस्था विभागको भूमिका र गाइडलाइन
औषधि व्यवस्था विभागले गुड फार्मेसी प्राक्टिस गाइडलाइन तयार गरिसकेको छ । यसमा फार्मेसीको संरचना, जनशक्ति, औषधि भण्डारण मापदण्ड, रेकर्ड राख्ने प्रणाली, बिरामी परामर्श प्रक्रिया, नैतिक र कानुनी दायित्व जस्ता सबै कुरा स्पष्ट रूपमा उल्लेख छन् । तर यो लागू किन भएन भन्ने प्रश्न उठ्छ । विशेषज्ञहरूका अनुसार यसको पछाडि अनुगमनको सीमित क्षमता, औषधि व्यवस्था विभागसँग देशभरका हजारौँ फार्मेसीको नियमित अनुगमन गर्ने जनशक्ति र स्रोत अभाव, व्यवसायिक दबाब (कानुन कडाइ ग¥यो भने फार्मेसी बन्द हुने डर), व्यवसायीले बुझ्ने, सिक्ने र लागू गर्ने सिमित अवसर, नीति–नियम र व्यवहारबीचको दूरी, कानुन कागजमै सीमित, व्यवहारमा लचकता आदि रहेका छन् ।
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगी मारमा
बुधबार, फागुन २०, २०८२
स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छः महेश गोर्खाली
मंगलबार, फागुन १९, २०८२
नीति बन्यो, कार्यान्वयन भएनः नेपाली औषधि उद्योगको गुनासो
सोमबार, फागुन १८, २०८२

