नेभिगेशन
फार्मेसी सुधारबाटै सुरक्षित स्वास्थ्य सेवा

कुशल फार्मेसी अभ्यासः औषधि व्यवसायको प्रतिष्ठा, बिरामीको सुरक्षा र सार्वजनिक स्वास्थ्यको आधार

औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाद्धारा ३० जना औषधि व्यवसायीलाई पहिलो चरणमा ‘कुशल फार्मेसी अभ्यास (जिपिपि) तालिम प्रदान 

 

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा औषधि पसल केवल औषधि किनबेच गर्ने ठाउँ मात्र होइन । धेरै नागरिकका लागि फार्मेसी नै पहिलो स्वास्थ्य सम्पर्क बिन्दु हो । चिकित्सकसम्म पुग्न नसक्ने, समय र आर्थिक सीमाभित्र उपचार खोज्ने हजारौँ नागरिक औषधि व्यवसायीमै निर्भर हुन्छन् ।

यही यथार्थलाई मध्यनजर गर्दै औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले पुस २६ र २७ गते ३० जना औषधि व्यवसायीलाई पहिलो चरणमा ‘कुशल फार्मेसी अभ्यास (जिपिपि) तालिम प्रदान गरेको छ ।

औषधि व्यवस्था विभागको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिएको यो तालिम केवल सीप अभिवृद्धि कार्यक्रम मात्र नभई औषधि व्यवसायलाई मर्यादित, सुरक्षित र विश्वसनीय बनाउने दिशातर्फको महत्वपूर्ण कदम हो ।

प्रतिष्ठा बढाउने अभ्यास, सुरक्षित सेवातर्फको यात्रा
औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठ का अनुसार ‘कुशल फार्मेसी अभ्यास, प्रतिष्ठा बढाउने प्रयास’ भन्ने मर्मसहित संघले तालिम आयोजना गरेको हो । उहाँका अनुसार औषधि व्यवसायलाई त्रुटिरहित, व्यवस्थित र बिरामीमैत्री बनाउन यस्ता तालिम अत्यन्त आवश्यक छन् ।


तालिममा सहभागी व्यवसायीलाई प्राविधिक सहयोग, फार्मेसी व्यवस्थापन, औषधिको सुरक्षित भण्डारण, बिरामी परामर्श, कानुनी दायित्व र पेशागत आचारसंहिता सम्बन्धी ज्ञान दिइएको छ । तर यो तालिमको महत्व केवल काठमाडौंका ३० फार्मेसीसम्म सीमित छैन—यो बहसले नेपालभरका करिब २३,००० फार्मेसीको अवस्था र भविष्यलाई छोएको छ ।


डब्लुएचओको दृष्टिकोणः गुड फार्मेसी प्राक्टिस के हो ?  
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय फार्मास्युटिकल फेडेरेसन (एफआईपि) ले संयुक्त रूपमा कुशल फार्मेसी प्राक्टिसलाई पछिल्लो समय क्वालिटी फार्मेसी प्राक्टिसको अवधारणा अघि सारेका छन् । 

कुशल फार्मेसी अभ्यासका मुख्य नैतिक आधार
 

डब्लुएचओले फार्मेसीलाई केवल व्यापारिक इकाइ मात्र नभई स्वास्थ्य सेवा प्रदायकको महत्वपूर्ण हिस्सा मानेको छ । 

बिरामीलाई सही औषधि, सही मात्रा, सही समय र सही तरिकाले प्रयोग गर्न सहयोग गर्ने, औषधिको सुरक्षित र प्रभावकारी प्रयोग,  गलत औषधि, गलत मात्रा वा अनावश्यक एन्टिबायोटिक प्रयोग रोक्नु, सार्वजनिक स्वास्थ्यमा योगदान, खोप, स्वास्थ्य सचेतना, जीवनशैली परामर्श, र रोग निवारणमा सक्रिय भूमिका, पेशागत इमानदारी र नैतिकता, नाफाभन्दा पहिले बिरामीको हित, कानुनको पालना र पेशागत मर्यादा गुड फार्मेसी प्राक्टिसका मुख्य स्तम्भ हुन् । 
 


नेपालको यथार्थः २३ हजार फार्मेसी, तर अभ्यास कति ‘कुशल’ ?

नेपालमा औषधि व्यवस्था विभागको तथ्यांक अनुसार करिब २३,००० भन्दा बढी फार्मेसी दर्ता छन् । तीमध्ये  धेरैजसो फार्मेसीमा प्रशिक्षित फार्मासिस्ट वा फार्मेसी सहायक पूर्ण समय उपस्थित छैनन् । बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक सजिलै बिक्री हुने अवस्था छ ।  औषधिको भण्डारण मापदण्ड (तापक्रम, आद्र्रता) पालना नहुनु, एक्सपायरी औषधि व्यवस्थापनमा कमजोरी, बिरामीलाई पर्याप्त औषधि परामर्श नदिनु जस्ता समस्याले औषधि व्यवसायलाई मात्र नभई सार्वजनिक स्वास्थ्यलाई नै जोखिममा पारिरहेको छ ।

एन्टिबायोटिक रेसिस्टेन्सः फार्मेसी अभ्यासको गम्भीर परीक्षा

नेपालमा बढ्दो एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) को एक प्रमुख कारण अनियन्त्रित औषधि बिक्री हो । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटको रूपमा व्याख्या गरिसकेको छ ।

नेपालमा ज्वरो, रुघाखोकीमै एन्टिबायोटिक पूरा मात्रा नखाने प्रवृत्ति, फार्मेसीबाट चिकित्सकजस्तै सिफारिस कुशल फार्मेसी अभ्यासको अभावका प्रत्यक्ष परिणाम हुन् ।


औषधि व्यवस्था विभागको भूमिका र गाइडलाइन 
औषधि व्यवस्था विभागले गुड फार्मेसी प्राक्टिस गाइडलाइन  तयार गरिसकेको छ । यसमा फार्मेसीको संरचना, जनशक्ति, औषधि भण्डारण मापदण्ड, रेकर्ड राख्ने प्रणाली, बिरामी परामर्श प्रक्रिया, नैतिक र कानुनी दायित्व जस्ता सबै कुरा स्पष्ट रूपमा उल्लेख छन् । तर यो लागू किन भएन भन्ने प्रश्न उठ्छ ।  विशेषज्ञहरूका अनुसार यसको पछाडि अनुगमनको सीमित क्षमता, औषधि व्यवस्था विभागसँग देशभरका हजारौँ फार्मेसीको नियमित अनुगमन गर्ने जनशक्ति र स्रोत अभाव, व्यवसायिक दबाब (कानुन कडाइ ग¥यो भने फार्मेसी बन्द हुने डर), व्यवसायीले बुझ्ने, सिक्ने र लागू गर्ने सिमित अवसर, नीति–नियम र व्यवहारबीचको दूरी, कानुन कागजमै सीमित, व्यवहारमा लचकता आदि रहेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट