नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी स्वास्थ्य बीमाको भरमा उपचार गराइरहेका हजारौँ बिरामीका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को पछिल्लो निर्णयले गम्भीर चिन्ता थपिएको छ। अस्पताल प्रशासनले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने घोषणा गरेसँगै बीमित बिरामीहरू अन्योलमा परेका छन्।
टिचिङ अस्पतालमा दैनिक सयौँ बिरामी स्वास्थ्य बीमाको कार्ड बोकेर उपचारका लागि पुग्ने गरेका छन्। गरिब, दीर्घरोगी, वृद्ध र गम्भीर रोगका बिरामीहरूका लागि यही बीमा नै उपचारको एकमात्र आधार बनेको थियो। तर अब माघ १ पछि उनीहरूले बीमावापत उपचार सेवा नपाउने अवस्था सिर्जना भएको छ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको दररेट र अस्पतालको वास्तविक उपचार खर्चबीच ठूलो अन्तर रहँदै आएको छ। विगत दुई वर्षदेखि अस्पतालको वास्तविक दरलाई अन्तिम दरका रूपमा मान्यता दिन पटक–पटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको अस्पतालको गुनासो छ।
बीमामार्फत उपचारका लागि आउने बिरामीको संख्या र चाप दिनहुँ बढ्दै गएपछि अस्पतालको खर्च पनि तीव्र रूपमा बढेको प्रशासनको भनाइ छ। मासिक झण्डै ५ करोड रुपैयाँ बराबरको उपचार खर्च हुने भए पनि बीमा बोर्डबाट करिब ५० प्रतिशत मात्र दावी स्वीकृत हुने र बाँकी रकम अस्वीकृत हुँदै आएको बताइएको छ।
यसरी अस्वीकृत रकम पूर्ति गर्न अस्पतालले आफ्नै आन्तरिक स्रोत प्रयोग गर्नुपरेको र त्यसकै कारण मासिक करिब २ करोड रुपैयाँ घाटा बेहोरिरहेको अस्पताल प्रशासनले जनाएको छ। यही आर्थिक दबाबका कारण स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको अस्पतालको ठहर छ।
अस्पतालका अनुसार हालसम्म करिब ४० करोड रुपैयाँ बराबरको बीमा दावी रकम भुक्तानी हुन बाँकी रहेको छ। भुक्तानी प्रक्रिया सहज नहुँदा अस्पताल मात्र होइन, उपचारका लागि आशा बोकेर आउने बिरामीहरू समेत मारमा परिरहेका छन्।
नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड र त्रि।वि। शिक्षण अस्पतालबीच २०७७ सालदेखि सम्झौता भई बीमा उपचार सेवा निरन्तर सञ्चालन हुँदै आएको थियो। तर पछिल्लो समय देखिएको आर्थिक असन्तुलन र नीतिगत समस्याले यो कार्यक्रम नै संकटमा परेको अस्पताल प्रशासनको भनाइ छ।
माघ १ गतेदेखि बीमा सेवा बन्द भएपछि दीर्घरोग, क्यान्सर, मिर्गौला, मुटु तथा जटिल रोगका बिरामीहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। बीमाको भरमा उपचार गरिरहेका बिरामीहरूले अब कहाँ जाने, कसरी खर्च जुटाउने भन्ने प्रश्नले उनीहरूलाई थप पीडित बनाएको छ।
नेपाल नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष र सदस्य नियुक्त
बिहीबार, पुस २४, २०८२
गिँजाको सुजनदेखि मुटु रोगसम्मः बेवास्ता गर्दा गम्भीर बन्दै गिँजा स्वास्थ्य
बिहीबार, पुस २४, २०८२
चिसो बढेसँगै बढ्दै मौसमी फ्लु र जाडोका रोग
सोमबार, पुस २१, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन रोकियोः पाटन उच्च अदालतको अन्तरिम आदेश
सोमबार, पुस २१, २०८२
