नेपाल हेल्थ न्युज, काठमाडौं । कानूनले सुर्तीजन्य पदार्थको कुनै पनि प्रकारको प्रचार–प्रसार र प्रवर्द्धन निषेध गरे पनि सुर्ती उद्योगले फरक–फरक नाम र गतिविधिमार्फत आफ्नो बजार विस्तार गरिरहेको पाइएको छ । सामाजिक उत्तरदायित्वको आवरणमा उद्योगले सुर्तीजन्य पदार्थलाई सकारात्मक देखाउने प्रयास गरिरहेको विज्ञहरूको भनाइ छ ।
विश्वका १०० देशमा गरिएको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययनअनुसार नेपाल ४३औँ स्थानमा परेको छ । उक्त प्रतिवेदन आज काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
अध्ययनले सबैभन्दा बढी सुर्ती उद्योगको प्रभाव डोमिनिकन रिपब्लिक, स्विट्जरल्यान्ड र अमेरिकामा देखिएको जनाएको छ भने उद्योगको हस्तक्षेप न्यून रहेको देशको सूचीमा ब्रुनाई अग्रस्थानमा छ । नेपाल भने मध्यमस्तरको हस्तक्षेप हुने देशमा परेको छ ।
प्रतिवेदनमा सुर्ती नियन्त्रण तथा नियमनसम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनमा स्थानीय तहको भूमिका अपेक्षाकृत कमजोर रहेको उल्लेख गरिएको छ । यद्यपि, केही पालिकाले सकारात्मक पहल गरेका छन् ।
सुर्तीमुक्त क्षेत्र घोषणा गर्ने पालिकामध्ये ललितपुर महानगरपालिका अग्रणी देखिएको छ । त्यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गुटखा बिक्रीमा कारबाहीको व्यवस्था गरेको छ भने तिलोत्तमा नगरपालिकाले यस्तो कार्यमा ५० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान लागू गरेको छ ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा सुर्ती उद्योगको नीतिगत प्रभावका कारण नेपालमा सुर्तीजन्य पदार्थको कर वृद्धि हुन नसकेको निष्कर्ष निकालिएको छ । उद्योगले विद्यालयलाई आर्थिक सहयोग, एम्बुलेन्स खरिदजस्ता गतिविधिमा संलग्न भएर आफूलाई ‘खराब होइन’ भन्ने सन्देश फैलाइरहेको प्रतिवेदनमा उल्लेख छ, जुन प्रचलित कानूनको मर्मविपरीत रहेको बताइएको छ ।
यसैबीच, पछिल्लो समय विद्यालय तथा कलेज जाने विद्यार्थीहरूमा विद्युतीय चुरोट (भेप) र हुक्काको प्रयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । भेपको आयातमा प्रतिबन्ध भए पनि यसको प्रयोग तथा बिक्री वितरण नियन्त्रण गर्न नसकिएको भन्दै कानून संशोधन आवश्यक रहेको अधिवक्ता ज्योति बानियाँले बताउनुभयो । नेपालको बाटो हुँदै भेपको अवैध कारोबार हुने गरेको विषय पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
सुर्तीजन्य पदार्थले स्वास्थ्यमा मात्र होइन, सामाजिक र आर्थिक पक्षमा समेत गम्भीर असर पार्ने भएकाले सुर्ती उद्योगको हस्तक्षेप रोक्न सबै सरोकारवाला एकजुट हुनुपर्नेमा कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

