नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित र गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने अधिकार सुनिश्चित गरे पनि व्यवहारमा यो अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ। पछिल्ला बजार अनुगमनका क्रममा स्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण खाद्य सामग्री नेपाली बजारमा निर्वाध रूपमा बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण निकायले हालै काठमाडौं, झापा, बर्दिया लगायतका विभिन्न जिल्लामा गरेको निरीक्षणमा पसल, होटल तथा खाद्य उद्योगहरूमा दूषित खानेपानी, गुणस्तरहीन दालमोठ, पेय पदार्थ, बेकरी सामग्री, मसला तथा खाना पकाउन प्रयोग हुने हानिकारक तेल फेला परेको छ।
अनुगमनका क्रममा ‘शुद्ध’ र ‘विश्वसनीय’ भन्दै बिक्री गरिएका पानीका जार, जुस, चिया, बेकरी उत्पादन तथा होटलका खानामा म्याद सकिएका सामग्री, कृत्रिम रङ तथा स्वास्थ्यका लागि हानिकारक ट्रान्स फ्याट प्रयोग भएको पुष्टि भएको छ। विज्ञहरूका अनुसार यस्ता खाद्य पदार्थको नियमित सेवनले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने मौलिक हकको ग्यारेन्टी गरेको छ।
तर, व्यवहारमा पुग्दा बजारको वास्तविक अवस्था यस संवैधानिक व्यवस्थासँग मेल खान सकेको देखिँदैन। कागजमा सुनिश्चित गरिएको उपभोक्ताको अधिकार बजारमा भने उपेक्षित बन्दै गएको छ, जहाँ गुणस्तरभन्दा नाफा प्राथमिकतामा परेको कटु यथार्थ देखापरेको छ।
यस अवस्थाप्रति उपभोक्ता अधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले संविधानले सुनिश्चित गरेको सुरक्षित खाद्य वस्तु उपभोग गर्ने हक व्यवहारमा लागू हुन नसकेको भन्दै बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन, दोषी व्यवसायीमाथि कडा कारबाही गर्न तथा सम्बन्धित सरकारी निकायलाई सशक्त बनाउन माग गरेका छन्।
यता सम्बन्धित निकायले अनुगमनको दायरा विस्तार गर्ने प्रयास भइरहेको दाबी गरे पनि सीमित जनशक्ति र स्रोतसाधनका कारण बजार नियन्त्रण चुनौतीपूर्ण बनेको स्वीकार गरेको छ। कमजोर नियमन र फितलो अनुगमनकै कारण उपभोक्ताको स्वास्थ्य जोखिममा परेको सरोकारवालाहरूको भनाइ छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
