नेभिगेशन

निपाह भाइरसको सम्भावित जोखिमपछि सीमा नाकाहरूमा उच्च सतर्कता

निपाह संक्रमण २४–४८ घण्टामै कोमामा पुर्‍याउन सक्ने, मृत्यु दर ७० प्रतिशतसम्म

नेपाल हेल्थ न्युज, काठमाडौं । छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमणका घटना देखिएपछि नेपालमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाइएको छ। महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई सतर्क रहन निर्देशन दिँदै निपाह भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी तथा यस्ता लक्षणका कारण भएका मृत्युका घटनाबारे विवरण संकलन गर्न आग्रह गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा एक साताको अवधिमा कम्तीमा पाँच जनामा निपाह भाइरस संक्रमण पुष्टि भएको छ भने करिब एक सय जनालाई निगरानी तथा क्वारेन्टाइनमा राखिएको छ। यसले नेपालमा पनि संक्रमण फैलिन सक्ने जोखिम बढाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. अमृत पोखरेलका अनुसार निपाह भाइरसबाट संक्रमित व्यक्ति सामान्यतया गम्भीर अवस्थामा हुने भएकाले लामो दूरीको यात्रा गरेर नेपाल प्रवेश गर्ने सम्भावना न्यून हुन्छ। ‘संक्रमितहरू प्रायः सीधै अस्पताल पुग्ने अवस्था हुन्छ, त्यसैले अस्पतालहरूलाई विशेष सतर्क रहन भनिएको हो,’ उहाँले बताउनुभयो। सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई पनि जोखिमबारे जानकारी गराइसकिएको उहाँले जानकारी दिनुभयो।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस संक्रमण भएको ३ देखि १४ दिनभित्र लक्षण देखिन सक्छ। संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने तथा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन सक्छन्। केही अवस्थामा मस्तिष्क सुन्निने, मानसिक अन्योल, अत्यधिक थकान र दौरा पर्ने समस्या समेत देखिन सक्ने चिकित्सकहरू बताउँछन्।

गम्भीर अवस्थामा संक्रमित व्यक्ति २४ देखि ४८ घण्टाभित्रै कोमामा जान सक्ने जोखिम रहेको डब्ल्युएचओको चेतावनी छ। निपाह भाइरसबाट मृत्यु हुने दर ४० देखि ७० प्रतिशतसम्म हुन सक्ने बताइएको छ।

निपाह भाइरस जुनोटिक प्रकृतिको अर्थात् जनावरबाट मानिसमा सर्ने भाइरस हो। चमेरो र सुँगुरलाई यसका मुख्य प्राकृतिक होस्ट मानिन्छ। संक्रमित जनावरसँग प्रत्यक्ष सम्पर्क, तिनको मासु सेवन वा चमेरोबाट दूषित फलफूल तथा वातावरणमार्फत पनि संक्रमण फैलिन सक्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्।

निपाह भाइरस पहिलोपटक सन् १९९९ मा मलेसिया र सिंगापुरमा पहिचान गरिएको थियो। त्यसयता भारतका विभिन्न भागमा समय–समयमा यसको प्रकोप देखिँदै आएको छ। पश्चिम बंगालमा सन् २००१ र २००७ मा तथा केरलामा २०१८ मा फैलिएको संक्रमणका कारण दर्जनौँको ज्यान गएको थियो।

शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसको तुलनामा निकै घातक छ।‘चमेरो र सुँगुर नेपालमा पनि पाइने भएकाले जोखिमलाई हल्का रूपमा लिन हुँदैन,’ उहाँले चेतावनी दिनुभयो।

खुला सीमा र भौगोलिक समानताका कारण जोखिम कायमै रहेकाले सतर्कता, प्रारम्भिक पहिचान तथा संक्रमण नियन्त्रणमा विशेष जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ। हालसम्म निपाह भाइरसको कुनै निश्चित उपचार वा खोप उपलब्ध नभएकाले लक्षणअनुसार उपचार गरिँदै आएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट