नेभिगेशन
पुनर्स्थापनाबाट पुनर्जन्मतर्फ

बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन

अपाङ्गता होइन, आत्मसम्मान र आशा पुनःस्थापना गर्ने केन्द्रको सुरुवात

नेपाल हेल्थ न्युज, ललितपुर । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास भर्ने उद्देश्यका साथ ग्वार्कोस्थित बी एन्ड बी अस्पताल परिसरमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

अस्पतालका सम्माननीय संस्थापक प्रा.डा. जगदीश लाल बैद्य र प्रा.डा. अशोक कुमार बास्कोटाकोे प्रमुख आतिथ्यतामा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ को उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, विभिन्न विभागका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहले केवल नयाँ सेवा केन्द्रको सुरुवात् मात्र नभई, पुनस्र्थापनामूलक स्वास्थ्य सेवाप्रतिको अस्पतालको दीर्घकालीन प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।dr-bibek-1769396166.jpeg

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिबेक बाँस्कोटा ले ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ लाई कृत्रिम अंग जडान गर्ने साधारण केन्द्रका रूपमा मात्र नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो—‘यो केन्द्र अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, गतिशीलता र जीवनप्रतिको आशा पुनःस्थापना गर्ने अभियान हो ।’

उहाँले उपचारलाई शल्यक्रियामै सीमित नराखी पुनस्र्थापना सेवासँग जोडेर बिरामीलाई आत्मविश्वासका साथ जीवनतर्फ फर्काउने केन्द्रको स्पष्ट लक्ष्य रहेको बताउनुभयो । सो अवसरमा उहाँले केन्द्रको दृष्टिकोण, सेवा क्षेत्र र भावी योजनाबारे पावरपोइन्ट प्रस्तुतिकरण समेत गर्नुभयो ।
प्रस्तुतिकरणपछि सहभागीहरूले चिकित्सा क्षेत्रको सफलताको मापन केवल उपचारको संख्याले नभई रूपान्तरित जीवनहरूको प्रभावबाट हुनुपर्ने सन्देश पाएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा सम्माननीय संस्थापक प्रा.डा.जगदीश लाग बैद्य र प्रा.डा अशोक बास्कोटाले शुभकामना मन्तव्य राख्दै केन्द्रको सफलताको कामना गर्नुभयो । उहाँहरूको दूरदृष्टि, करुणा र आजीवन सेवाभावकै कारण यो महत्वपूर्ण पहल सम्भव भएको भन्दै अस्पताल प्रशासनले गहिरो कृतज्ञता व्यक्त गरेको छ ।

उद्घाटन समारोहका क्रममा केही लाभग्राहीहरूलाई कृत्रिम अंग हस्तान्तरण पनि गरिएको थियो जसले कार्यक्रमलाई अझ भावनात्मक र अर्थपूर्ण बनाएको थियो ।

आयोजकका अनुसार ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ अर्थोपेडिक उत्कृष्टता र पुनस्र्थापना सेवाबीचको सहकार्यको जीवन्त उदाहरण हो—जहाँ विज्ञान र मानवता एकसाथ अघि बढ्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप रिपोर्ट विशेष