नेभिगेशन

पायल्स उपचारका क्रममा किशोरीको मृत्यु, चिकित्सक नियन्त्रणमा

नेपाल हेल्थ न्युज, सर्लाही । सर्लाही जिल्लामा पायल्सको उपचार गराउने क्रममा एक किशोरीको ज्यान गएपछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित मोहन आयुर्वेदिक औषधालयमा उपचार गराइरहेकी १८ वर्षीया हंशु पासवानको शल्यक्रियाका क्रममा अवस्था बिग्रिएपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार शल्यक्रियापछि बिरामीको स्वास्थ्य अचानक जटिल बनेपछि उनलाई तत्काल हरिवनस्थित नमूना अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकका आफन्तले उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण किशोरीको ज्यान गएको आरोप लगाएका छन्। घटनापछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट